www.tandavnews.com
Fact ~ In search of truth

निर्णय भएको दुई महिनापछि पिसीआर मेशिन किन्न बजेट

बागलुङ ।

धवलागिरि अस्पतालमा पिसीआर मेशिन राख्न मन्त्रीस्तरीय निर्णय भएको दुई महिनापछि बल्ल बजेट छुट्टएिको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार १२ गते धवलागिरि अस्पतालसहित १० अस्पतालमा पिसीआर मेशिन राख्ने निर्णय गरेको थियो ।

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठकले पिसीआर मेशिन खरिदका लागि रु एक करोड बजेट विनियोजन गरेको व्यहोराको पत्र जिल्ला प्रशासन कार्यालयमार्फत शुक्रबार प्राप्त भएको अस्पतालले जनाएको छ ।

Batas

निर्णय भएको महिनौँ बित्दासमेत मेशिन नआएपछि सर्वसाधारणमा गुनासो बढेको थियो । यस क्षेत्रमा पिसीआर मेशिन नहुँदा कोरोना जाँचका लागि प्रदेश राजधानी पोखरामा निर्भर रहनुपर्ने बाध्यता छ । प्रदेशभरिबाट सङ्कलन हुने स्वाबको चापका कारण रिपोर्ट ढिला आउने गरेको छ । यहीँ पिसीआर जाँच सेवा शुरु भएमा धवलागिरि क्षेत्रका चारै जिल्लाले लाभ लिनेछन् ।

ढिलै भए पनि बजेटबारे निर्णय भएकाले अब मेशिन खरिदका लागि कसरी अगाडि बढ्ने विषयमा छलफल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । मेशिन खरिद, जडान, जनशक्ति व्यवस्थापन र सञ्चालनमा धेरै खर्च हुने भएकाले उक्त बजेट अपुग हुने देखिएको उनको भनाइ छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट शैलेन्द्र विक पोखरेलले बजेटको अख्तियारी प्राप्त हुनासाथ मेशिन खरिदको प्रक्रिया अगाडि बढाइने बताए ।

मेशिन राख्ने निर्णय कार्यान्वयनमा देखिएको अन्योलता बजेट विनियोजन भएसँगै हटेको उनको भनाइ छ । यसअघि पिसीआर मेशिन सरकार आफैँले खरिद खरेर अस्पताललाई दिने हो या अस्पताल आफँैले किन्ने भन्ने विषय स्पष्ट भएको थिएन । “मेशिन कहाँ राख्ने, कसरी जनशक्ति व्यवस्थापन गर्ने भन्ने विषयमा हामी कार्ययोजना बनाउँदैछौँ”, मेसु पोखरेलले भने ।

उनले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगसमेत सहकार्य गरेर काम गरिने उल्लेख गरे । “पिसीआर जाँचका लागि हामीलाई जनशक्तिको खाँचो छ, माइक्रोबायोलोजिस्टको समेत आवश्यकता पर्छ”, उनले भने । अस्पतालका सिनियर ल्याब टेक्नोलोजिस्ट पनि अहिले पिसीआर जाँचका लागि पोखरामा खटिएका छन् ।

“खर्चको अख्तियारी आउनासाथ मेशिन खरिद प्रक्रिया थाल्छौँ, यथाशक्य छिटो पिसीआर जाँच सेवा शुरु गर्छौँ”, मेसु पोखरेलले भने । गण्डकी प्रदेशमै पहिलोपटक गत चैतमा बागलुङकी १९ वर्षीया किशोरीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै धवलागिरि अस्पतालमै पिसीआर मेशिन राख्नुपर्ने आवाज उठेको थियो ।

त्यसताका स्वाबको नमूना पठाएको हप्तौँसम्म पनि रिपोर्ट नआउने स्थिति थियो । पछिल्लोपटक प्रदेशमा रहेका प्रयोगशालाको क्षमता केही बढाइए पनि त्यो पर्याप्त छैन । स्वास्थ्य कार्यालयका अनुसार बागलुङमा हालसम्म २९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमध्ये २६१ जना निको भएका छन् भने ३० जना आइसोलेसनमा छन् । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.