www.tandavnews.com
Fact ~ In search of truth

९ जनाको ज्यान लिएको दुर्लुङ पहिरोलाई डेढ करोड विनियोजन

सञ्जय रेग्मी,
पर्वत/ ताण्डव न्यूज ।

९ जनाको ज्यान लिने गरी पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोस्थलमा सुरक्षाको काम गर्न डेढ करोड रुपैयाँ विनियोजन गरेको छ।

गत जेठ ३१ गते राति गाउँमाथिबाट आएको पहिरो बस्तीमा पस्दा २ परिवारका ९ जनाको मृत्यु भएको थियो। पहिरो गएको स्थानको भौगोलिक अवस्था र आगामी सुरक्षाका लागि गर्नुपर्ने पूर्वाधार निर्माणको विषयमा भूगर्वबिदले दिएको सुझाव कार्यान्वयन गर्नको लागि उक्त रकम विनियोजन भएको हो।

Batas

भूगर्भविद् शिवकुमार बाँस्कोटाको संयोजकत्वमा आएको टोलीले ढकालबारीको अध्ययन गरेपछि तयार पारेको प्रतिवेदनमा पहिरो गएको आसपासका १० घर फेरि पनि जोखिममा रहेकोले तत्कालै सुरक्षाका लागि पूर्वाधार निर्माणको काम गर्न सुझाएको थियो।

पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इन्जिनियरिङ पद्धति अवलम्बन गर्न सकिने प्रस्ताव प्रतिवेदनमा गरिएकोले सोही कामहरू गर्नको लागि गृह जिल्ला पर्वत भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बजेट विनियोजनको पहल गरेका थिए।

प्रतिवेदनमा काफलबोटरकाउलेका ७ घर र खेतसहितको जमिन अस्थिर भई तलतिर विस्तारै सर्ने क्रममा रहँदा घरहरू ढल्केको तथा चर्केको अवस्थामा पाइएकोले त्यो ठाउँको बस्तीलाई पनि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको थियो।

ढकालबारीदेखि नुवारखोलासम्म ठुलो भूभाग पनि लामो समयदेखि तलतिर सरेको पाइएको भूगर्भविद् बास्कोटाले बताएका छन्। प्रतिवेदनमा उक्त स्थानमा रहेका घर सार्न, नयाँ घर नबनाउन, सिँचाइ खेती नगर्न, भेल पानी तर्काउन र उक्त क्षेत्रभित्र रहेका पानीका मूलको व्यवस्थित निकास दिन पनि सुझाव दिइएको छ।

सडक निर्माणका क्रममा जमिन काटिँदा, काटिएको माटो अव्यवस्थित तवरले फ्याँकिँदा तथा साइड ड्रेन (नालीहरू) व्यवस्थित नहुँदा कोटगाउँ, गैराथोक र घोगेनी क्षेत्रका केही घरहरूमा जोखिम बढेको देखिएकोले त्यस्ता कार्यहरू गर्दा आवश्यक प्राविधिक अध्ययन तथा सर्वेक्षण गरी बस्ती सुरक्षित हुने हिसाबले गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ।

पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायोइन्जिनियरिङको काम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत गर्ने भनी अध्ययनले सुझाएकोले सोहीअनुसार काम हुनेछ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.