www.tandavnews.com
Fact ~ In search of truth

पिसिआर नेगेटिभ नआई अस्पतालबाट बिरामीलाई नपठाइयोस् – संसदीय समिति

काठमाडौं ।

मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले कोभिड–१९ को संक्रमण न्यूनीकरण र रोकथामका लागि समुदायस्तरमा रहेका निवृत्त स्वास्थ्यकर्मी, जनस्वास्थ्यविद्, विभिन्न सामाजिक कार्यमा संलग्न संघसंंथालाई समेत परिचालनको प्रभावकारी योजना बनाएर काम गर्न सुझाव दिएको हो ।

Batas

समितिले कोभिड–१९ को संक्रमित होम आइसोलेशनमा रहने व्यवस्थाले सबै संक्रमितले समयमै स्वास्थ्यकर्मीबाट परीक्षणमा पहुँच र निगरानी तथा अनुगमन सहज नहुने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई सुझाव दिएको सभापति शशी श्रेष्ठले जानकारी दिए ।

भर्चुअल माध्यमबाट भएको समितिको पछिल्लो बैठकको निर्णयमा भनिएको छ, आवश्यक स्वास्थ्य सुरक्षा सतर्कताबिना नै आफूखुशी बस्दा अन्यलाई संक्रमण सर्ने उच्च जोखिम देखिएकाले होम आइसोलेशनमा बस्न सम्भव नहुनेको सुरक्षित र भरपर्दो स्थानमा उपचार र व्यवस्थापन गर्न सरकारले जिम्मा लिनुपर्छ ।

संयुक्त परिवारमा बस्ने हाम्रो संस्कार, शहरका एकाध घर छाडेर आर्थिक अवस्थाले एउटै कोठामा डेरामा बस्नुपर्ने बाध्यता, त्यसबाट हुनसक्ने संक्रमणको जोखिमको पक्षलाई मनन गरी उपचारको दायित्व राज्यले नै लिनुपर्छ भन्ने समिति सदस्यको मत थियो । यस्ता विषयलाई समयमै सम्बोधन गर्ने नीति नभएमा स्थिति थप भयावह हुन सक्नेतर्फ सचेत रहन सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए ।

सरकारले कोभिड–१९ जोखिमको समयमै आँकलन गरी रोकथाम र नियन्त्रणलाई उच्च प्राथमिकता दिई लिएको लकडाउनसम्बन्धी नीति र हाल अघि बढाइको व्यवस्थापन विधि अरु मुलुकको तुलनामा निकै प्रभावकारी भएको जनाउँदै आएको छ ।

संघीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने कोभिड–१९ रोकथाम र नियन्त्रणको प्रभावकारी कार्ययोजना नआएको भनी आलोचना गर्दै आएको छ । मुलुकमा नभएर बाहिर पठाउनुपर्ने स्थितिबाट अहिले पिसिआर परीक्षण ४० भन्दाबढी ठाउँमा विस्तार भएको, स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको, ठूलो संख्यामा बिरामी रहनसक्ने आइसोलेशन र क्वारेन्टिन निर्माण एवं कोभिड–१९ अस्पतालको बन्दोबस्ती तथा आवश्यक भेन्टिलेटरको छोटो समयमै व्यवस्था गरेको कुरालाई प्रतिपक्षले हल्कारुपमा लिन नमिल्ने सरकारको भनाइ छ ।

समितिले कोभिड–१९ को उपचार र व्यवस्थापनमा अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पिपिई, फेसशिल्ड, पञ्जा, मास्कलगायतका अत्यावश्यक सुरक्षा सामग्री सहज र अनिवार्य उपलब्ध गराउन पनि सरकारलाई निर्देश गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.