www.tandavnews.com
Fact ~ In search of truth

धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

बागलुङ ।

धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ ।

यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को अनुमतिपछि मात्रै यो विधिबाट कोरोना संक्रमितको उपचार गर्न पाइने व्यवस्था छ ।

‘अवस्था के कस्तो आउँछ आँकलन गर्न सकिँदैन’, अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोख्रेलले भने, ‘त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोनाको उपचार सफल भएपछि हामी पनि यसबाट उत्साहित छौं र यहाँ पनि यो विधिबाट उपचार गर्न तयारीमा जुटेका छौं ।’

Lama collectio News Middle

अस्पतालले यसको अनुमतिसँगै रगतबाट प्लाज्मा छुट्याउन सेन्ट्रिफिक मेसिन पनि माग गरेको छ । ‘अनुमति र उपकरण प्राप्त भएपछि अस्पतालले प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सक्छ’, उनले भने, ‘कोरोना संक्रणबाट निको भएकाले प्लाज्मा दिन तयार हुँदा मात्रै हामी यसमा सफल हुन्छौं ।’ अनुमति र मेसिन आएलगत्तै प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न सकिने उनले बताए ।

यो उपचार प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ । प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो ।

यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ । यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो ।

कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुने दाबी चिकित्सकको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery