www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबै नेगेटिभ

पर्वत ।

छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकामा ११७, फलेवास नगरपालिकामा ११५, जलजला गाउँपालिकामा ६८, मोदीमा ५८, महाशीलामा ५१, विहादीमा ११० र पैयुँ गाउँपालिकामा ११० जनाको स्वाब संकलन गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरिएको हो । समुदायमा पुगेर स्वाब संकलन गरिएका ९४६ जनाकै रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम तथा व्यवस्थापन केन्द्र (सिसिएमसी)पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताए ।

Batas

उनका अनुसार पर्वत अहिलेसम्मलाई सुरक्षित देखिएको छ । समुदायमा बाहेक कन्ट्याक्ट ट्रेसिङमा परेका २४० जनाको पनि नमूना संकलन गरी परीक्षण गरिएको थियो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पर्वतमा गत चैत ११ गतेपछि भारतबाट एक हजार ११३ र भारतबाहेक तेस्रो मुलुकबाट ३६१ व्यक्ति जिल्ला भित्रिएका छन् । उनीहरुसहित हालसम्म पर्वतमा दुई हजार १४० पुरुष र ३७८ महिला गरी दुई हजार ५१८ जनाको पिसीआर परीक्षण गरिएको छ ।

पर्वतमा हालसम्म विदेशबाट फर्किएका र कन्ट्याक्ट टे«सिङका गरी जम्मा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १०३ उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अहिले छ संक्रमितको सदरमुकाममै रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार ती संक्रमितको भोलि सोमबार स्वाब संकलन गरी पुनः परीक्षणका लागि पठाइने छ । उनीहरुमा कुनै लक्षण देखिएको छैन ।

पर्वतमा समुदायमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर निषेधाज्ञालाई कडा पारिएको छ । पछिल्लो एक सातादेखि सार्वजनिक सवारीका साधनहरु पूर्णरूपमा बन्द गरिएको छ भने जिल्ला भित्रिने सबै नाकाहरुमा सवारी जाँचमा कडाइ गरिएको छ ।

सदरमुकाम र पालिकास्तरमा समेत जनचेतनाका कार्यक्रमलाई प्रहरी र स्थानीय तहका कर्मचारीले निरन्तर प्रभावकारी बनाइरहेको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.