www.tandavnews.com
Fact ~ In search of truth

राहतको प्रतीक्षामा बाढीपीडित, राहत बुर्तिवाङमै थन्कियो

बागलुङ ।

बागलुङको ढोरपाटन नगरपालिका–९ का बाढीपीडितका लागि प्राप्त भइरहेको राहत ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमै थन्किएको छ । घरबार गुमाएका बाढीपीडित भने राहतको प्रतीक्षामा बसेका छन् ।

ढोरपाटन–९ मा यही भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ठूलो जनधनको क्षति पुगेपछि देशविदेशबाट राहत जुटे पनि सडक सम्पर्क विच्चेछ भएकाले राहत पुर्याउन समस्या भएको छ ।

Batas

बाढीका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै वेपत्ता छन् । बाढीले ८० वटा घर पूर्ण र ७१ घरमा आंशिक क्षति बनाएको छ । बाढीले ठूलो क्षति पुर्याएको खबरसँगै विभिन्न संघसंस्था तथा व्यक्तिले राहत अभियान चलाइरहेका छन् ।

ताराखोला गाउँपालिका, लोकदोहोरी प्रतिष्ठान बागलुङ, लायन्स क्लब अफ बागलुङ, दलित सञ्जाल बागलुङलगायत दर्जनौँ संघसंस्थाले नगरपालिकाको केन्द्र बुर्तिबाङमा राहत पुर्याएका छन् । भदौ १८ गतेदेखि संकलित हुनथालेको राहत सडक अभावका कारण पीडितसमक्ष पुर्याउन समस्या भएको हो ।

एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भएपछि राहत दिने शुभेच्छुक तथा दाताहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरेका छन् । यद्यपि गृहमन्त्री रामबहादुर थापा, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाली कांग्रेसका नेता द्रोण कुँवर तथा जित शेरचनले हेलिकप्टरमार्फत केही राहत भने बाढीग्रस्त क्षेत्रमा पुर्याएका थिए ।

विपतपछि बाढीग्रस्त क्षेत्रमा पुगेका संघसंस्था र व्यक्तिले दिएको राहत पनि ढोरपाटन–९ को वडा कार्यालयमा राखिएको छ । पीडित परिवारका सदस्यहरु भौगोलिक रूपमा पनि विकट क्षेत्रमा रहेको र मोबाइल सम्पर्कमा समेत समस्या भएकाले समन्वयमा पनि वडा कार्यालयलाई सकस भएको छ ।

नगरपालिकाले खोज तथा उद्धार कार्य जारी रहेको र तथ्यांक संकलन गर्ने काम पनि चलिरहेकाले हाल ढोरपाटन नगरपालिकाको तर्फबाट मात्रै राहत सामग्री वितरण गरिएको ढोरपाटनका नगर–उपप्रमुख करमती पुनले जानकारी दिए ।

‘सडक र सञ्चार सम्पर्क विच्छेद, घटनास्थल पुग्नै समस्या तथा पीडितहरुले राहत लिनसमेत नसकेका कारण राहत वितरणमा चुनौती छ’, पुनले भने, ‘तत्कालका लागि खाद्यान्न वितरण भइसकेको र अन्य राहतहरु क्रमशः वितरण गर्दै जानेछौंँ।’ पुनका अनुसार भौगोलिक विकटता र सडक अवरुद्ध भएका कारण राहत वितरणमा समस्या भइरहेको छ ।

सडक खुलाउन नसके खच्चडमार्फत राहत लैजाने उनको भनाइ छ । वडा कार्यालयमार्फत पीडित परिवारलाई एक बोरा चामल, दाल तथा तेल वितरण गरे पनि केही पीडितले नपाएको गुनासो व्यक्त गरेका छन् ।

हालसम्म पीडितहरुको तथ्यांक संकलनमै रहेका कारण राहत वितरणमा ढिलाइ भएको वडा कार्यालयले जनाएको छ । गृहमन्त्री र मुख्यमन्त्रीले हेलिकप्टरमार्फत वितरणका लागि लगेको त्रिपाल, भाँडाकुँडा र म्याटे«ससमेत वडाकार्यालयमै थन्किएको छ । असली पीडितहरु दाहसंस्कार र वेपत्ताको खोजीमा रहेका कारण राहतका लागि वडा कार्यालयमा समेत आउन सकेका छैनन् ।

वडा कार्यालयदेखि तीन घण्टाको पैदलयात्राको दूरीमा रहेको र अहिले पैदलबाटो समेत नरहेका कारण पीडितको घरमै राहत पुर्याउन सकिएको छैन । बाढीपीडितले भने राहत नपाएको गुनासो गरेका छन् ।

हालसम्म नगरपालिकाको कुनै राहत नपाएको बाढिपीडित लालबहादुर विकले गुनासो गरे । यस्तै अर्का पीडित तुलबहादुर विकले नगरपालिकाले एक केजी दाल र एक लिटर तेलमात्रै दिएको बताए । नगरपालिकाले राहत दिएको भन्ने सुने पनि आफूले राहत नपाएको पीडितहरुको गुनासो छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.