www.tandavnews.com
Fact ~ In search of truth

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

पोखरा ।

पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन् । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो ।

Batas

अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उनको नाम ३४ नम्बरमा छ । विसं २०२६ यताका गुल्मपतिमा उनी पहिलो महिला रहेका छन् भने नेपालमा दोस्रो गुल्मपति हुन् । नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिइन् ।

जिम्मेवारी बहनसँगै गुरुङले भने, ‘तीन दशक लामो प्रहरी सेवामा शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिएर काम गर्दै आएकी छुु, गुल्मपतिको जिम्मेवारीलाई पनि यसको काम, कर्तव्य, अधिकारभित्र रहेर उत्कृष्ट बनाउनेतर्फ केन्द्रित हुनेछु ।’ उनले गुल्मपतिको जिम्मेवारीले आफूलाई थप ऊर्जा र उत्साह थपेको बताए।

आपत्कालीन ब्याक फोर्सका रुपमा रहने गुल्ममा उनको नेतृत्वमा ११० प्रहरी रहनेछन् । गुल्ममा सशस्त्र हतियारसहितका प्रहरी सेवा सञ्चालनसम्बन्धी विविध तालिम प्रदान गरिन्छ । यसअघि उनले दुई दशक लामो समय जिल्ला प्रहरी कार्यालय कास्कीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुखको जिम्मेवारी बहन गर्दै आएका थिए ।

कास्कीमा हुने विभिन्न आन्दोलन तथा प्रदर्शनमा हुने दङ्गा र भीड नियन्त्रणमा नेतृत्व गर्दै समन्वयकारी भूमिकासमेत गुरुङले बहन गरेका छन् । विसं २०७२ सालमा मानव बेचबिखनविरुद्ध प्रभावकारी काम गरेको मूल्यांकनका आधारमा महिला तथा बालबालिका मन्त्रालयबाट सम्मानित हुनाका साथै दर्जनभन्दा बढी संघसंस्थाबाट उनी सम्मानित भइसकेकी छिन् ।

गुरुङले प्रहरी सेवामा पछिल्लो समय महिलाको गर्विलो उपस्थिति निकै सकारात्मक भएको धारणा राखे । प्रहरी सेवामा महिला सहभागिताले लैङ्गिक समावेशीकरण कायमका साथै समतामूलक र न्यायिक समाजको लागि भूमिका खेल्ने विश्वास उनको छ ।

उनले २०४९ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रारम्भ गरेका हुन् । उनले विसं २०६७ मा प्रहरी निरीक्षकमा बढुवा भएर आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्दै आएकी छिन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.