www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा अब ‘नो हर्न, नो ओभरटेक’

तनहुँ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ । दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो ।

अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए । ’तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौ’, उनले भने, ‘शुरु शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानून बमोजिम कारवाही गर्छौ ।’

प्रहरीको यो अभियानलाई तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईले साथ दिएको छ । एकाईले प्रहरीलाई सचेतनामूलक चार वटा संकेत सामग्री हस्तान्तरण गरेको छ । संकेत सामग्रीमा तीव्र गतिमा सवारी नचलाऔँ, ओभरटेक नगरौँ र हर्न नबजाऔँ भन्ने सचेतनामूलक सन्देश राखिएको छ ।

Batas

दमौली बजार क्षेत्रको सवारी व्यवस्थापनका लागि एकाईले विगतदेखि नै प्रहरीलाई सहयोग गर्दै आइरहेको एकाई सभापति राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकाईले सहयोग गरेको उक्त संकेत सामग्री दमौली बजार प्रवेश गर्ने बुल्दी र मादी पुलमा राखिनेछ । त्यसका साथै भोर्लेटार चोक र जिल्ला प्रहरी कार्यालय अगाडी पनि उक्त सामग्री राखिने श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले सवारी व्यवस्थापनका लागि सामाजिक संघसंस्थाको सहयोग सकारात्मक रहेको बताए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले प्रहरीसँग हातेमालो गर्दै सामाजिक क्षेत्रका काममा सहयोग गर्न व्यवसायी तयार रहेको बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.