www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका बाढीपहिरो पीडितलाई साढे ३४ लाख सहयोग

म्याग्दी ।

म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले करिब साढे ३४ लाख सहयोग गरेका छन् ।

म्याग्दी समाज न्यूयोर्क अमेरिकाले त्यहाँ रहेका म्याग्देलीबाट सहयोग संकलन गरी जिल्लाभरका बाढीपहिरो पीडितलाई ३४ लाख ४५ हजार सहयोग प्रदान गरेको हो ।

Batas

गत असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकाको परिवार, घाइते, सुत्केरी र पूर्णरुपमा विस्थापित भएकालाई म्याग्दी समाज न्यूयोर्कले स्थानीय तहका जनप्रतिनिधिमार्फत उनीहरुको हातहातमै आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

स्थानीय तह र प्रहरीले उपलब्ध गराएको विवरणका आधारमा समाजले धवलागिरीमा मृतकका परिवार, घाइते र चार जना सुत्केरीलाई २ लाख ८० हजार तथा पूर्णरुपमा क्षति भएका ४४ घरपरिवारलाई ११ लाख सहयोग गरेको छ ।

त्यस्तै मालिका गाउँपालिकामा मृतकका परिवार र घाइतेलाई ७० हजार तथा पूर्णरुपमा क्षति भएका ५३ घरधुरीलाई १३ लाख २५ हजार, मङ्गला गाउँपालिकामा १५ घरधुरीलाई ३ लाख ७५ हजार, रघुगङ्गा गाउँपालिकामा मृतकका ३ जना परिवारलाई ३० हजार तथा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना मृतकका परिवार र एक जना घाइतेलाई ३० हजार एंव पूर्ण क्षति भई विस्थापित भएका १९ परिवारलाई दुई लाख ३५ हजार सहयोग गरिएको म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताए ।

पूर्णरुपमा विस्थापित भएका प्रतिघरधुरीलाई २५ हजार, प्रतिमृतक परिवारलाई १० हजार, प्रतिघाइते व्यक्तिलाई १० हजार र प्रति सुत्केरी महिलालाई १० हजारको दरले सहयोग गरिएको उनको भनाइ छ । त्यस्तै एकै परिवारमा दुई जनाले ज्यान गुमाएकालाई १५ हजार, तीन जनालाई २० हजार र चार जनालाई २५ हजार नगद सहयोग गरिएको बताइएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.