www.tandavnews.com
Fact ~ In search of truth

कारागारमा काेराेना : २३१ कैदीबन्दी संक्रमित, पाँचको मृत्यु

काठमाडौँ ।

मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो ।

कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए । उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ ।

Batas

आजसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सिराहामा देखिएको छ । त्यहाँ ११० जनामा परीक्षण गर्दा ८६ मा पोजिटिभ रहेको र त्यसमध्ये अहिले ८१ उपचारत रहेको सापकोटाले बताउनुभयो । सुनसरीमा ११, केन्द्रीय कारागार सुन्धारामा ६५ जनामध्ये ३१ सङ्क्रमणमुक्त भएका छन् भने २९ उपचाररत छन् । यस्तै पाँचथर, जुम्ला र सप्तरी कारागारमा समेत सङ्क्रमण देखिएको विभागले जनाएको छ । ललितपुर कारागारमा १०८ जनाको परीक्षणमा दुई पोजिटिभ देखिएका थिए ।

कारागारमा कोरोना बढ्न थालेपछि केही दिनअघि एक रिटमा सर्वाेच्च अदालतले कैदीबन्दीको स्वास्थ्योपचारमा ध्यान दिन र उच्च जोखिममा परेकालाई कानूनअनुसार कैद छुट दिन आदेश दिएको छ । सर्वाेच्चले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको व्यवस्था कार्यान्वयनका लागि आवश्यक संरचना, शर्त, प्रक्रिया र कार्यविधि निर्माण गर्न पनि सरकारलाई आदेश दिएको छ । विसं २०७५ देखि लागू भए पनि कार्यविधि र नियमहरु नबनेकाले कार्यान्वयन भएको छैन ।

सर्वाेच्चको आदेशअनुसार आवश्यक विवरण सङ्कलनको काम शुरु भएको सापकोटाले जानकारी दिए । आवश्यक प्रक्रिया पूरा गरी गृह मन्त्रालयमार्फत सरकारलाई उक्त विषयको प्रतिवेदन पेश गर्ने तयारी थालिएको उनले बताए । ऐनमा ५० प्रतिशत कैद भुक्तानी गरेका व्यक्तिमा असल चालचलन देखिएमा छुट दिन सकिने, खुला कारागारमा राख्न सकिने, हप्तामा एक दिन उपस्थित गराएर छाड्न सकिने, सामाजिकीकरण गर्ने तथा श्रममा लगाउन सकिने लगायतका व्यवस्था भए पनि कार्यान्वयन भएको छैन ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.