www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा कुन मन्त्री जाने, कुन आउने ? यस्ता छन् दाबेदार (नामसहित)

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा यति बेला मन्त्री फेरबदलको चर्चा चलेको छ । यसपटक गण्डकी प्रदेशमा मन्त्री थपिने तथा भएका मन्त्री फेरबदल हुने स्रोतले जानकारी दिए । ‘मन्त्री फेरबदल पहिले नै गर्नुपर्ने त्यो नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड लगायत नेताहरुबीच विवादको किचलो गर्दा रोकिएको थियो,’ स्रोतले भन्यो, ‘भदौ २६ गते नेकपाको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद फेरबदल र विस्तारका लागि बाटो खुलाइदिएको छ, अब गण्डकी प्रदेशमा केही मन्त्री थपिने र केही हेरफेर हुने पक्का छ ।’

कास्कीलाई एउटा पनि मन्त्री नदिएको भनेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको यहाँका सांसदले आलोचनासमेत गरेका थिए । अब मन्त्रिपरिषद फेरबदल हुँदा कास्कीबाट पर्नसक्ने आकांक्षा यहाँका सांसदले राखेका छन् ।

कास्कीमा चर्चा

कास्कीबाट गण्डकी प्रदेशमा ११ जना सांसद छन् । तीमध्ये मन्त्रीको दाबेदार नेकपा कास्कीका अध्यक्षसमेत रहेका सांसद कृष्ण थापा छन् ।  थापा नै कास्कीबाट पहिलो नम्बरको दाबेदार हुन् । त्यसपछि रामजी बराल, राजीव पहारी, गायत्री गुरुङ, मीना गुरुङ, दीपक कोइराला र प्रभा कोइरालाको चर्चा छ । यीमध्ये पहारीले मन्त्री बन्न मरिहत्ते गर्दै शक्ति केन्द्र धाउने गरेका छन् ।

लमजुङ

लमजुङबाट धनञ्जय दवाडी पनि मन्त्री बन्न सक्ने सम्भावना छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विश्वासिलो पात्र भएकै कारण पनि उनले यसअघि नै मन्त्री पाउँछन् कि भन्ने धेरैको आँकलन थियो तर त्यसो हुन सकेन । मुख्यमन्त्री गुरुङनिकट पात्र दवाडी पार्टी एकीकरणका सन्दर्भको कार्य विभाजनमा पनि अन्यायमा परे भनेर लमजुङमा चर्चा परिचर्चा चलेको थियो  । लमजुङका अर्का वरिष्ठ नेता मायानाथ अधिकारी भने संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा छन् । लाभको पदमा भइसकेको हुँदा उनले मन्त्री दाबी गर्न नपाउनुपर्ने अरु सांसदहरु बताउँछन् । तर उनी मन्त्री पाए प्रमुख सचेतकसमेत छाड्न तयार छन् । मुख्यमन्त्री गुरुङकै जिल्लाबाट समानुपातिक सांसद उनी मुख्यमन्त्री र गण्डकी प्रदेशकै अर्का वरिष्ठ नेता तथा संघीय सांसद खगराज अधिकारी दुवैतिर निकट छन् ।

नवलपुर

यसपटक नवलपुरले पनि नयाँ इतिहास रच्ने आशा छ । मुलुककै कान्छो जिल्ला बनेर प्रशासनिक/राजनीतिक हिसाबले गण्डकी प्रदेशमा परेको यो जिल्लालाई भावनात्मक र व्यावहारिक हिसाबले गण्डकीमा सामेल गराउन पनि त्यहाँबाट मन्त्री बनाउनुपर्ने दबाब मुख्यमन्त्रीमाथि छ । नवलपुरका प्रत्यक्ष निर्वाचित रोशन गाहामगर प्रदेश मन्त्रिपरिषद गठनको सुरुआतमै मन्त्री बन्ने सूचीमा थिए । तर शक्ति सन्तुलन मिलाउँदा रोशन मन्त्री हुनबाट बञ्चित भएका थिए । अब मन्त्रिपरिषद पुनर्गठन हुँदा पर्ने मन्त्रीको सूचीमा उनी १ नम्बरमै रहेको नेकपा संसदीय वृत्तमा चर्चामा छ ।

तनहुँ

अहिले तनहुँबाट दुईजना मन्त्री छन् । किरण गुरुङ अर्थ र हरिबहादुर चुमान गृह (आन्तरिक मामिला) मन्त्री छन् । यसपटक मन्त्री हेरफेर हुँदा त्यस जिल्लाबाट राम गुरुङले पनि आकांक्षा राखेका छन् । नेपाल सरकारमै मन्त्री भइसकेकी आशा कोइराला प्रबल दाबेदार हुन् ।

मुस्ताङ

हिमालपारिको जिल्ला मुस्ताङले पनि मन्त्री पाउने आस गरेको छ । चन्द्रमोहन गौचन मन्त्रीका आकांक्षी छन् । उनी र उनको परिवारकै कम्युनिस्ट पार्टीमा लामो योगदान पनि  छ । कांग्रेसबाट मुस्ताङका सांसद नेपाल सरकारमा पनि मन्त्री भइसकेको हुँदा नेकपाबाट प्रदेशमा भए पनि मन्त्री बनाउनुपर्ने मुस्ताङी माग छ । मुस्ताङको उपल्लो भेगका लोकप्रिय सांसद इन्द्रधारा विष्ट पनि मन्त्री बनाउन लायक छन् भन्ने मुस्ताङीको भनाइ छ ।

Lama collectio News Middle

बागलुङ

सांसद इन्द्रलाल सापकोटाका पनि मन्त्रीका लागि दाबेदार हुन् । प्रदेशमै नेकपाभित्र माधव नेपाल समूहका एकमात्रै सांसद उनलाई पार्टीभित्रको सन्तुलन कायम राख्न पनि सापकोटालाई दिन सक्ने सांसदहरु बताउँछन् ।

स्याङ्जा

मोहन रेग्मी सुुरुदेखि नै मन्त्रीका दाबेदार थिए तर उनी प्रदेश सभामा विधायन समितिको सभापति छन् । रेग्मीले यसपटक मन्त्री पद पाए लाभको पद त्याग्ने स्याङ्जाका नेताहरु बताउँछन् । स्याङ्जाका मीनप्रसाद गुरुङ पनि मन्त्रीको आकांक्षीबाहिर परेका छैनन् ।

मनाङ

अर्को हिमालपारिको जिल्ला मनाङका संसद राजीव गुरुङले भने मन्त्रीको लोभ गरेका छैनन् । मन्त्री भएपछि ११ वटै जिल्ला हेर्नुपर्ने भएकाले समय दिन गाह्रो हुने उनको भनाइ छ ।

४ वटा मन्त्री फेरिन सक्ने सम्भावना

मन्त्रिमण्डल गठन र हेरफेरको पूरै जिम्मा संविधानले प्रदेशको मुख्यमन्त्रीलाई दिएको हुनाले, सोही अधिकारलाई प्रयोग गर्दै मुख्यमन्त्री गुरुङले यसपटक केही मन्त्रीलाई जिम्मेवारीबाट विदा दिने भएका छन् । पार्टीसँग पनि भित्रभित्रै एक खालको खाका प्रस्तुत गरेको स्रोतले बतायो ।

वैधानिक रुपमा गण्डकी प्रदेशले १२ वटासम्म मन्त्रालय बनाउन सक्छ । मुख्यमन्त्रीसहित ७ मन्त्रालय मात्रै छन् । यसपटक ३ वटा मन्त्रालय फुटाएर १० वटा पुर्याउने गरी आन्तरिक रुपमा तयारी भएको स्रोतले बताए ।

गण्डकी प्रदेशका ७ वटा मन्त्रालयमध्ये ४ वटाको काम कारबाहीप्रति मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मात्र नभएर अन्य सांसदहरु पनि सन्तुष्ट हुन सकेका छैनन् । संघीयता र प्रादेशिक संरचनालाई जगैदेखि बलियो बनाउने गरी काम गर्न सक्ने सांसद अभाव भएकैले उनले फ्याट्टै मन्त्री हेरफेरको निर्णय नलिएका हुन् भन्ने उनीनिकट सांसद बताउँछन् । ‘परिणाम दिन सक्ने सांसदलाई मन्त्री बनाउने मुख्यमन्त्रीको चाहना छ । अब आधा कार्यकाल बाँकी भएको हुँदा एक्सन ओरिन्यटेड मान्छेलाई मन्त्री बनाउने भन्ने उहाँको सोच हो जस्तो देखिन्छ,’ उनी निकट एक नेताले सुनाए ।

धेरै जिम्मेवारी रहेको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सडक र पुलमा मात्रै ध्यान दिएको तर अरु थुप्रै काममा ध्यान पुर्याउन सकेनन् भन्ने छ ।

मन्त्री फेरिन सक्ने मन्त्रालय

१. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

२. समाजिक विकास मन्त्रालय

३. भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop