www.tandavnews.com
Fact ~ In search of truth

ढोरपाटनका मेयर नेपालीको पोखरामा मापदण्ड विपरित भवन

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

पत्रकार : सर, नमस्कार..
मेयर : नमस्ते, को बोल्नु भयो होला ?
पत्रकारः म ताण्डव न्यूजबाट पत्रकार बोले…
मेयर : हजुर भन्नु होस त ?
पत्रकार : तपाईले पोखरा–८ मा जुन भवन बनाउदै हुनुहुन्छ नीे, त्यसको पोखरा महानगरमा स्वीकृती लिनु भएको छ ?’
मेयर : किन ?
पत्रकार : समाचारको लागि हो सर…
मेयर : पोखरामा ९/१० तल्लाको घर बनाएका छन्, कसैले स्वीकृती लिएका छन् र ? देख्नु भएको छ होला लेकसाइड तिर पनि ?
पत्रकार : बनाएका छन् , सर । तर मैले अहिले तपाईले बनाएको भवनको कुरा गर्दै छु…
मेयर : यसको बारेमा पछि कुरा गरम्ला है, कार्यपालिकाको मिटिङ छ अब…

ताण्डव न्यूजसँग फोन संवादमा गैरजिम्मेवार कुरा गर्ने व्यक्ति अरु कोही होइनन्, उनी बागलुङ जिल्लास्थित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली हुन् । जनप्रतिनिधि भएर अरुले नियम नमानेको हुनाले आफुले पनि विना स्वीकृती भवन बनाएको भनेर लाज नै नमानी जवाफ दिए मेयर नेपालीले ।

Batas

मेयर नेपालीले पोखरामा मापदण्ड विपरित भवन निर्माण गर्दा यहाँको महानगरपालिकाले भने अझैसम्म कुनै कारवाही गर्न सकेको छैन । महानगरपालिको नियम कानुन लत्याउदै पोखरा–८ सिर्जनाचोकमा कर्मा कम्प्लेक्स नाम दिएर ८ तल्ले भवन बनाइरहेका छन् मेयर नेपालीले ।

एउटा जनप्रतिनिधि भएर सबैलाई नियम मानेर अघि बढ्नु पर्छ भन्ने सन्देश दिने ठाँउमा उल्टो नियम मिचेर काम गरेको भनी मेयर नेपाली आलोचित भएका छन् । मेयर नेपालीले १ तल्लाको मात्र सम्पन्न लिएको पोखरा महानगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख शारदा मोहन काफ्लेले बताए । ‘यो भवन बनाउने वेलादेखीनै विवादमा आएको थियो,’ उनले भने, ‘सूरुकै दिनदेखि विवादमा आएपनि विना स्वीकृती अहिले तल्लामाथी तल्ला थप्ने काम भएको छ ।’

मेयर नेपालीले ८ तल्लाको भवन बनाउन स्वीकृती नलिएको फिल्डमा खटिएका इन्जिनियर सूरेन्द्र पौडेलले बताए । ‘मेयर नेपालीले १ तल्लाको स्वीकृती र सम्पन्न लिएकै हुन् , अनि ३ तल्लाको स्वीकृती पनि लिए तर सम्पन्न लिएका छैनन्,’ उनले भने, ‘यो सरासर मापदण्ड विपरित नै तल्ला थप्ने काम भईरहेको छ ।’

कानुन नै लत्याएर काम गर्दा समेत पोखरा महानगरपालिकाले कुनै कारवाही गर्न नसक्नु चरम लाचारीपन रहेको महानगर स्रोत बताउँछ । ‘यसरी एउटा जनप्रतिनिधि नगरपालिकाको मेयरले अर्को महानगरपालिको नियम कानुन मान्दैन भने कानुनको के अर्थ ?,’ रिसाउँदै स्रोतले भन्यो, ‘पैसा र शक्तिका आडमा मेयर नेपालीले मापदण्ड विपरित भवन बनाए, उनलाई कारवाही गर्नु पर्छ नत्र गलत नजिर बस्छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.