www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना संक्रमण

चितवन ।

जिल्लामा कोरोना संक्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो ।

केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल संक्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन । यो संख्या आजसम्म संक्रमित संख्याको २० प्रतिशत हुन आउँछ ।

Batas

संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति संक्रमित भएको पाइएको उनले बताए । यसलाई हेर्दा सङ्क्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ ।

त्यसबाहेक संक्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा सङ्क्रमण भएको बताएको उनले जानकारी दिए । तिवारीले भने, ‘जिल्लामा जम्मा संक्रमणको ५० प्रतिशत हिस्सा अस्पतालहरुको रहेको पाइयो ।’

अध्ययनका क्रममा उद्योग, व्यापार, होटल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १११ मा संक्रमण देखिएको छ । कलकारखाना, होटल, इन्टरप्राइजेज वा व्यवसायमा देखिएको संक्रमण बढ्दो क्रममा रहेको छ । घर भाडामा एकै घरमा धेरै व्यक्ति बस्ने, एउटै शौचालय प्रयोग गर्नेहरुमा संक्रमण फैलिएको पाइएको छ ।

अध्ययनपछि तयार गरिएको प्रतिवेदनमा भनिएको छ, ‘पसलको सामान ढुवानी गर्ने, सामान बेच्ने, तरकारी बजार जाने, सवारी चालक, कोभिड परीक्षण नगरी बाहिरबाट आएका कामदार, जिल्ला बाहिर गएर आएका र अग्रभागमा रहेको प्रत्यक्ष सेवा दिने बैंक, वित्तीय संस्था, विद्युत् प्राधिकरणका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।’

अध्ययनले अस्पताल उच्च जोखिममा देखिएपछि कोभिड संक्रमण फैलन नदिनका लागि आन्तरिक कार्ययोजना बनाएर काम गर्ने विषयमा जिल्लामा रहेका अस्पतालसँग छलफल भइसकेको तिवारीले जानकारी दिए ।

संक्रमण फैलिन नदिन अस्पतालमा जाँदा बिरामीको साथमा एक कुरुवा मात्र पठाउनुपर्ने, कुरुवा फेरिन नहुने, अस्पतालमा उपचारका लागि गएका र कुरुवा बसेका व्यक्तिहरु कम्तीमा एक हप्ता होम क्वारेन्टिन पालना गरी बस्ने र अन्य व्यक्तिको सम्पर्कमा नजान केन्द्रको सुझाव छ । परिवारका सदस्यहरुलाई अन्य सामान्य अवस्थामा जस्तो साथीभाइसँग हिँडडुल, घुमफिर नगर्न, बजारमा घरभाडामा बस्ने व्यक्तिहरुले आफ्नो घरमा भाडामा बस्ने र घरधनी व्यक्तिहरु संक्रमणको जोखिम हुने गरी अन्यत्र आवतजावत गरे÷नगरेको यकिन गर्नुपर्ने सुझाव दिइएको छ ।

रोग नियन्त्रणका लागि पसलमा बसेर सामान बेच्दा सामान किन्न आउने ग्राहकसँग सावधानी अपनाउन, मास्क लगाउन, पैसा लिँदा अलग्गै टोकरीमा राख्नेजस्ता व्यवस्था मिलाउन केन्द्रको सुझाव छ ।

सब्जीमन्डीमा हुने भीडभाड नियन्त्रण गर्नुपर्ने, उद्योगमा बाहिरबाट कामदार ल्याउँदा स्वास्थ्य परीक्षण गराएर मात्र उद्योगमा प्रवेश गराउन, कच्चा पदार्थ ल्याउँदा र तयारी सामग्री बाहिर पठाउँदा हुने लोडअनलोडबाट संक्रमण नभित्रिने गरी प्रबन्ध मिलाउनुपर्ने, विद्युत् मर्मत सेवा, सरकारी कार्यालय र बैंकहरुमा अग्रभागमा बसेर ग्राहकलाई सेवा दिने व्यक्तिको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने केन्द्रको सुझाव रहेको सदस्य तिवारीले जानकारी दिए ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको जिल्लाको उच्चस्तरको समितिले विस्तृत अध्ययन गरेर कोरोना फैलिएको क्षेत्रको पहिचान गर्दै जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको हो ।

जिल्लामा हालसम्म संक्रमितको संख्या एक हजार ३०७ पुगेको छ भने १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । बाहिरी जिल्लाको सहित यो संख्या २९ पुगेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.