www.tandavnews.com
Fact ~ In search of truth

व्यवसायीहरुको प्रश्न ‘फुटसल, जीम बन्द गर्‍याैँ, संक्रमण रोकिएको खोई ?’

अर्जुन गाहा
पोखरा,ताण्डव न्यूज ।

‘कोभिड–१९’ कोरोना भाईरसको त्राससँगै संक्रमित हुने डर सकिएको छैन । मास्क तथा सेनीटाईजरको प्रयोग र फिजिकल डिस्टेन्स कायम गरेरै कोरोना सन्त्रासलाई परास्त गर्दै अधिकांश व्यक्तिहरु आफ्नो दैनिकीमा फर्किसकेका छन् ।

सरकारले जारी गरेका आदेश अनुसारका व्यापार व्यवसाय चलायमान भएका छन् र आवश्यक स्वास्थ्य सुरक्षा मापडण्ड पूरा गर्दै सेवा सुविधा प्रदान गरिरहेका छन् । तर सरकारले होटल, स्कुल कलेज, चलचित्र घर, सैलुन, व्यूटीपार्लर, व्यायामशाला तथा फुटसललाई खोल्न अनुमति भने दिएको छैन । यी सबै क्षेत्रका व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गरेको महिनौ भैसक्दा समेत कोरोना संक्रमणको दर नघटेको भन्दै सरकारले अब विकल्प खोज्न जरुरी रहेको तर्क दिदै आएका छन् ।

Batas

‘सरकारको आदेश मान्दै आएको पनि ६ महिना बितिसक्यो । विकल्प खोजौ, यसरी कति सकिन्छ ?, पूर्व राष्ट्रिय फुटबल खेलाडी समेत रहेका स्पोर्टस् क्यासल सेन्टर पोखराका सञ्चालक ईश्वर गुरुङ (चन्द्र) प्रश्न तेर्साउछन । उनले ६ रोपनी जग्गामा ६ करोडको लगानीमा क्यासल सञ्चालन गर्दै आएको बताउदै पछिल्लो समय बैंकको किस्ता तिर्न सकस परेको बताए ।

उनले अन्य क्षेत्र खोल्न अनुमति दिएको बताउदै खेलकुद क्षेत्रको विकासमा लगानी गर्नेहरुलाई अन्याय भएको तर्क राखे । ‘कोभिड–१९ भनेर यसरी कहिलेसम्म पर्खेर बस्ने ? यो सँग लड्न प्रतिरोधात्मक क्षमता चाहिन्छ । तर व्यायाम गर्ने ठाउँ नै बन्द गरेपछि कसरी ईम्युनिटी पावर बढ्छ ?, गुरुङ प्रश्न थप्छन्, ‘६ महिना पर्खियौ । हामीले बन्द गर्दा कोरोना संक्रमणको दर न्यूनीकरण हुनुपर्ने होईन झन् बढेको बढ्यै छ त विकल्प खोई ?

गुरुङले फुटसल तथा जिम बन्द गर्दा व्यवासायिक रुपमै खेलकुदमा लागेका खेलाडीहरुको समेत दैनिकीमा प्रभाव परेको बताए । ‘फुटसल भनेको स्कील र स्पीड बढाउने ठाउँ हो खेलाडीहरु घरमै बस्न बाध्य भएपछि उनीहरुको गुणस्तर खस्किन्छ ।, उनले भने, ‘राज्यको लागि खेल्ने खेलाडीको पक्षमा राज्यले सोच्नु पर्छ । तर यहाँ राज्यको उपस्थिति देखिएन ।’

त्यस्तै फुटसल व्यवसायी संघ कास्कीका अध्यक्ष गणेश क्षेत्रीले पोखरामा २७ वटा फुटसल सेन्टर सञ्चालनमा रहेको बताए । उनका अनुसार केही निर्माणाधिन अवस्थामा रहेका छन् । उनले अन्तराष्ट्रिय मापडण्ड अनुसारको कुनै एक फुटसल सेन्टर सञ्चालन गर्न कम्तिमा डेढ करोड खर्चिनुपर्ने जानकारी दिए । उनले पछिल्लो ६ महिना बितिसक्दा समेत सरकारले सञ्चालनको लागि अनुमति नदिदा फुटसल व्यवसाय धाराशायी बन्दै गरेको बताए । ‘सबैको आफ्नै जग्गामा सञ्चालन छैन भाडा तिर्नपर्याे गाह्रो छ ।’ अध्यक्ष क्षेत्रीले भने ।

त्यस्तै व्यायाम व्यवसायी संघ कास्कीका सचिव बलराम सुवेदीले गत चैत देखी पोखराका सम्पुर्ण व्यायामशालाहरु ठप्प रहेको बताए । ‘हामी कास्कीका व्यायाम व्यवसायीहरुले सरकारलाई चाँबी बुझाउनुर्ने अवस्थामा रहेको छौ, उनले भने, ‘अबपनि यसरी नै बन्द गर्ने हो भने हाम्रो पारिवारिक स्थिति देखी लिएर घरभाडा बैंकको ब्याज तिर्न नसक्ने भएकाले बैंक आएर चाँबी लाउनु भन्दा पहिले नै हामी आफैले बुझाउन जान पर्ने बाध्यकारी अवस्था आएको छ ।’

उनले सरकारी निकायलाई ज्ञापन पत्र बुझाएको बताउदै माग सुनुवाई नभएको बताए । हामीले सामाजिक दुरी कायम गरेर, सुरक्षाका मापडण्ड अपनाएर व्यायामशाला खोल्छौ भनेर केन्द्रीय सरकार, प्रदेश र स्थानिय सरकारलाई बुझायौ तर हाम्रो माग सुनुवाई भाछैन, उनले भने, ‘कहिले औषधि आउछ र खुल्छ भनेर बस्ने । विकल्प खोई त?’

सचिव सुवेदीले व्यवसायिक रुपमा सञ्चालन हुदै आएका व्यायामशालालाई खोल्न अनुमति नदिएको बताउदै स्थानिय सरकारद्वारा खुला पार्कमा निर्मित व्यायामस्थलमा अनुचित भिड हुदै आएको गुनासो गरे । ‘सरकारले नै निशुल्क खुल्ला व्यायामशाला भनेर सराङ्कोट तल बनाएको छ । त्यहाँ गएर अनुगमन गर्न सक्नुहुन्छ विना मास्क, विना सावधानी भिडभाड हुने गरेको छ, उनले भने, ‘कि कर तिरेर व्यवसायिक रुपमा जीम सञ्चालन गर्दा कोभिड सर्ने र राज्यले खुल्ला हिसाबले बनाएको स्थलमा जति मान्छे जम्मा भैदिएपनि नसर्ने भन्ने के छ ?’

खेलाडीहरु भन्छन्, ‘खेल्ने वातावरण बनोस्’

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक दीप कार्कीले कोभिड –१९ ले आफ्नो दैनिकीमा समेत प्रत्यक्ष प्रभाव पारेको बताए । उनले सामान्य रुपमा घरमै दैनिकी बितिरहेको बताउदै आफुलाई शारिरीक रुपमा तन्दुरुस्त राख्न घरै वर्कआउट गर्दै आएको बताए । ‘अहिले सबै फुटसलहरु बन्द छ । बाहिर निस्कन पनि जोखिम छ, उनले भने, ‘हामीलाई पनि फिटनेश घट्छ कि भन्ने डर छ । फेरी टफनेस पनि छ । त्यसैले सरकारले केही गरिदिन्छ कि भन्ने अपेक्षा छ । छिटै खेल्ने वातावरण बनोस् ।’

यस्तै नेपाली फुटबल टोली (यू–१९) का पोखरेली खेलाडी रन्दीप पौडेलले कोभिडका कारण पहिला जस्तो प्रशिक्षण गर्न नपाएको बताए । उनले सामाजिक दुरी कामय गर्दै फिजिकल फिटनेशका लागि ट्रेनिङ गर्दै आएको पौडेलले बताए । उनले कोरोना भाईरसको महामारीका कारण खेलकुद प्रतियोगिता नहुदा जिविको पार्जन गर्न गाह्रो परेको समेत तर्क दिए । ‘कोही कोही त गेम खेलेरै खाने हुन्छ उनीहरुलाई अहिले निकै गाह्रो भएको छ । राहात स्वरुप पाएको ५ हजारले के नै पो हुन्छ र, उनले भने, ‘जसरी हुन्छ सरकारले खेल्ने वातावरण मिलाओस ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.