www.tandavnews.com
Fact ~ In search of truth

बोयरले दिएको खुशी

अर्जुन गाहा
पोखरा, ताण्डव न्यूज ।

‘जित्नेहरु फरक कुरा गर्दैनन्, त्यही कुरा फरक तरिकाले गर्छन ।’ शिव खेडाको यो भनाईसँग शिव आले मगरले मित लगाए । उमेरले भर्खरै एकबिस आठ टेकेका शिवको संकल्प थियो, पुस्ताले गर्दै आएको कृषि पेशालाई फरक तरिकाले अवलम्बन गर्ने र छलाङ मार्ने । दमन सिं आले र नीर कुमारी आलेको पहिलो सन्तानका रुपमा भिमाद नगरपालिका ९ पाथर्दी तनहुँमा जन्मेका उनी अहिले युवा कृषकका रुपमा परिचित छन् । आफ्ना पुर्खाले गर्दै आएको परम्परागत कृषि प्रणालीलाई परिस्कृत गर्दै बाख्रा पालनमा रमाईरहेका छन् । बोयर बाख्रासँग पिरती साटिरहेका छन् ।

कृषिमा छलाङ मार्ने रहर

Batas

स्कुल लेभल पढ्दा उनलाई पहिलो पटक नैनीताल शैक्षिक भ्रमण जाने लगन जुर्याे । पहाडका खेतमा धान झुलेको देखिरहने उनले महेन्द्रनगर क्षेत्रमा लटरम्म टमटर फलेको देख्दा अचम्मित बने । उनले दोस्रो पटक झापा, ईलाम पुगे । त्यहाँको चिया वगान देखे । र कृषि क्रान्तिको हुटहुटी जाग्यो । उनले आफ्नो पुर्खाले गर्दै आएको कृषि प्रणालीलाई परिस्कृत लैजाने निधो गरे । एस.एल.सी दिईसकेपछि उनी खाली समयमा भिमाद झरे । पलम्बिङ सम्बन्धि तालिम लिएपछि उनी सिभिल ओभरसियर पढ्न डुम्रे हानिए । तर उनलाई पढ्ने रहर भने कृषि थियो । कृषि क्रान्तिको रहरलाई मनमै दबाउदै उनले तिन वर्षमा सिभिल ओभरसियर सक्काए ।

त्यो अवधिमा उनले बन्दिपुर क्षेत्रमा रहेको बाख्रा अनुसन्धान केन्द्रमा रहेको बाख्राहरुको अवलोकन, बाख्राको विकासबारे ३ दिने प्रशिक्षण लिईसकेका थिए । हातमा सर्टिफिकेट सिभिल ओभरसियरको भएपनि उनले भविष्य आधुनिक कृषिमै देखिरहेका थिए । पढाई सक्किएपछि उनले फिल्डमा केही समय भोलेन्टियरिङ गरे । तर पनि उनको मन भने कृषि मै तानिएको थियो । ‘ब्यास नगरपालिकामा भोलेन्टियरिङ गर्ने मौका पाएको थिए । आफुलाई नै नपुग्ने नी भएपछि कृषि तिरै लाग्नुपर्छ भनेर १० वटा खरीबाट बाख्रापालन सुरु गरे, उनी भन्छन्, ‘घरमा कुखुरा, गाईहरु थिए । ति सबै हटाए । १ तोला सुन ६० हजारमा बेचे र खोर बनाउन र बाख्रा हाल्न कुल ८० हजारको लाग्यो ।’ आले परिवारको कुल २२ रोपनी जग्गा मध्ये १३ रोपनीमा धान हुन्थ्यो । तर वर्षभरि खान पुग्ने थिएन । निर्वाहमुखी कृषिमा निर्भर हुदै आएका उनका बाजेसँगै पैठाजोरी खेल्दै उनले १३ रोपनी खेतमा घाँस लगाईदिए । ‘बाजे रोएको अवस्था थियो । मलाई पागल भयो भन्नुहुन्थ्यो, शिव सुनाउछन, ‘मेरो दृढ संकल्प थियो । आज सफल भएको छु बाजे साथमा हुनुहुन्न यदि भएको भए ठिकै गरिस नाती भनेर खुशी हुनुहुन्थ्यो होला ।’

बुवा विदेश रहेपनि भनेजस्तो कमाई नहुनु आर्थिक पक्षबाट उकासिनु नसक्नु शिवको लागि चुनौती नै चुनौती । त्यही माथि घरमा द्वन्द । तर उनीसँग संकल्प थियो । पाथर्दी डाडाँलाई कृषिको क्षेत्रबाट नयां आयाम थप्ने । स्वरुप परिवर्तन गराउने । उनीमा धैर्यताको बाँध टुटेन । किनभने उनलाई थाहा थियो, ‘जित्नेहरु फरक कुरा गर्दैनन्, त्यही कुरा फरक तरिकाले गर्छन ।’ उनले निरन्तर सँघर्ष गर्दै गए । व्ययसायिक बन्न लागेको ५ वर्ष सम्म उनी नोक्सानी नै व्यहोरी रहे । घरबाट पाउने माया पातलिदै गयो । तर पनि उनी हार खाएनन् । ‘त्यो बेला म सबैसँग हारिसकेको थिए । तर मेरो संकल्पले भने म भित्र डेरा जमाईसकेको थियो । सबैसँग हारेपनि संकल्पसँग हारेको थिएन, शिव भन्छन्, ‘त्यसैले त आज यो दिनमा छु । मैले जे गरे ठिकै गरे । परिवारमा पनि सबै खुशी हुनुहुन्छ ।’

ईजरायलबाट सीप

सृजनशिल बाख्रा फार्म नाम दिएर व्यावसायिक रुपमा उनी तङ्ग्रिदै आए । उनी अझ प्राविधिक पक्षबाट समेत अब्बल हुदै गए । बिस्तारै परिवारले पनि उनको अवधारणालाई स्वीकार्दै साथ पाउदै गए । विदेशीएका बुबालाई नेपाल झिकाए । र कृषि अध्ययनका लागि उनी साना कृषि सहकारीको माध्ययमबाट सन् २०१७ मा ईजरायल हानिए । उनले त्यँहा नर्सरी कम्पनीमा १० महिना बिताए । जहाँ हजारौ प्रजातिका विरुवा पाईन्थे । ‘मैले काम गर्ने कम्पनी त्यो देशको टप फाईभमा पर्ने रहेछ । साथीहरु बजारतिर घुम्न जान्थे म चाँही गाई, भेडा फार्म, कृषि फार्म तिर समय बिताउथे रिसर्च सेन्टर पनि हेर्ने मौका पाए, उनी थप्छन्, ‘मैले काम गर्ने कम्पनीमा काउली देखी लिएर फलफुलका बेर्ना पाईन्थ्यो । कसरी लगाउने, कहिले फल्छ यो बारे पनि राम्रो ज्ञान छ । ईजरायल जाने ठुलो धोको थियो जे होस नेपाल फर्कदा सीप बोकेर आए ।’

क्वान्टिटीमा भन्दा क्वालिटीमा विश्वास

आज भन्दा ९ वर्ष पहिलो १० वटा खरीबाट व्यावसायिक बाख्रा पालन सुरु गरेका शिवको फार्ममा क्वान्टिटी घट्ने बढ्ने चलिरहन्छ । खरीबाट सुरु गरेपनि अहिले उनको खोरमा बोयर प्रजातिको बाख्राले डेरा जमाएको छ । उनका अनुसार ६० वटा बाख्रा भएपनि खोरेका क्षमता भने १ सय ४० रहेको छ । उनी भन्छन्, ‘मैले क्वान्टिटीमा भन्दा क्वालिटीमा विश्वास गर्छु । सबैको आफ्नै विजनेस पोलिसी हुन्छ । मलाई २०० सम्म पुर्याउने लक्ष्य छ ।’ उनले फार्ममा बाख्राको मृत्युदर १ प्रतिशत मात्रै रहेको छ । उनीसँग भेटेनरीको सर्टिफिकेट त छैन तर ईन्जेक्सन भने उनी आफै लगाईदिन्छन । उनी भन्छन्, ‘मेरोमा बाख्रा मर्दैनन्, केही भईहाल्यो भने म आफै सुई लगाउदिन्छु । विरलै मात्रै मर्छन । रोग लाग्यो भनेर मर्दनन् ।’ उनलाई आफ्नो २२ रोपनी जग्गा अपुग भएपछि थप १५ रोपनी लिजमा लिएर घाँस रोपेका छन् ।

प्रतिशतका आधारमा मुल्य

जन्मिएको तिन महिना पुगेपछिमात्रै पाठा–पाठी विक्रि गर्न मिल्ने शिव बताउछन् । ३ महिनासम्म त दुध नै खान्छ । छुटाउन मिल्दैन उनी भन्छन्, ‘त्यो समयावधिमा करिब १८÷१९ किलोको हुन्छ । हामीले प्रतिशतको आधारमा बेच्छौ । यदी शत प्रतिशत खरी माउ र शत प्रतिशत बोयर व्याड छ भने (एफ वान) पहिलो पुस्ताको ५० प्रतिशत हुन्छ त्यसको पाठालाई प्रतिकिलो १ हजार ४ सय १० र पाठिलाई १ हजार २ सय १० मा बेच्छौ ।’
उनका अनुसार प्रतिशतको आधारमा प्रतिकिलो १ हजार ४ सय १० देखी ३ हजार १० सम्म पर्ने गर्दछ । ‘हामीले व्याड चाँही अष्ट्रेलियाबाट ल्याउनुपर्छ । प्रत्येक १३ महिनामा फेर्नुपर्छ । त्यसको किन्दा एउटाको २ लाख ६० हजार बढि पर्छ, उनी भन्छन्, ‘एउटा सामान्य बोकालाई ३० हजार सम्म पाईन्छ ।’

आम्दानी र अनुदान

शिव खेडाको भनाईसँग मित लगाएकै कारण बोलचाल बन्द भएको परिवारमा खुशीयालीकै बहार छाएको छ । त्यसोत यसको पछाडि शिवको निरन्तर सँघर्ष र दृढ संकल्पलाई भने बिर्सन कदापी मिल्दैन । उनले पछिल्लो समय वार्षिक १६ लाख आम्दानी गर्दै आएका छन् । उनले अहिले कुनै कर्मचारी राखेका छैनन् । उनको परिवारको साथ छ । ‘फेमेली विजनेस भएको छ, शिव भन्छन्, ‘बाबा आमा र म सबै मिलेर हेरेका छौ । कामाको प्रकृति हेरेर विभाजन गरेका छौ ।’ उनी २०७२ सालको दुखका दिनहरु स्मरण गर्दै थप्छन्, ‘नाकाबन्दी त्यहीमाथी भुकम्पले गर्दा दानाहरु नपाईने । किस्ता तिर्न नसकिने परिवारमा बोलचाल नै बन्द होला जस्तो भएको थियो ।’ उनी अहिले परिवारको मात्रै होईन गाउँलेको पनि वाहवाही पाएका छन् । उनी एक उदाहरण हुन् । पाथर्दी क्षेत्रमा ६५ घरधुरी मध्ये ६० परिवारले व्यावसायिक बाख्रा पालन गर्दै आएका छन् । ‘म अनुदानको पछि लागिन । मेरो फार्ममा प्रदेशका सबै मन्त्री आउनुभएको छ । अरु फार्मले जति पाईन तर मैले केन्द्रिय लेभलको तालिम लिने मौका पाए जो तनहुँबाट प्रतिनिधित्व गरेर त्यही नै मेरो लागि अनुदान भन्दा ठुलो कुरा हो ।’ उनी सुनाउछन् । उनले पछिल्लो समय सम्म सृजनशिल बाख्रा फार्ममा ६० लाख बढि लगानी गरिसकेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.