www.tandavnews.com
Fact ~ In search of truth

सौराहाका होटल भोली(बिहीबार)देखि खुल्ने

चितवन ।

लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै व्यवसायीले तयारी थालेका हुन ।

गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि सोही महिनाको २८ गतेदेखि पुनः बन्द भएका थिए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै आजबाट तयारी थालिएको छ । कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको उनले जानकारी दिए ।

होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको उनको भनाइ छ । दशैँको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा शुरु गर्ने तयारीमा व्यवसायी रहेका छन् ।

संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले फेरि बन्द हुने भन्ने डरका कारण सीमित सेवा दिएर होटल खुल्ने जानकारी दिए । बिहीबारदेखि क्रमशः होटल खुल्दै जाने उनको अनुमान छ । सबै होटलका कर्मचारी बिदामा छन् ।

रेष्टूरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुरेन्ट क्रमशः बिहीबारदेखि खुल्ने छन् । उनले भने, ‘सेवा शुरु गछौं, क्रमशः थप रेष्टुरेन्ट खुल्दै जान्छन् ।’ निकुञ्जले हात्ती, डुङ्गा, जीप सफारी, जङ्गल सफारीलगायतका पर्यटकीय गतिविधि सबै रोकेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले होटल खुलेसँगै पर्यटकीय गतिविधिका लागि अनुमति दिन आवश्यक प्रक्रिया अघि बढाइने बताए । डुृङ्गाका लागि पहिलो पटकको बोलपत्रमा निवेदन नपरेको बताउँदै उनले पुनः बोलपत्र आह्वान गरिने जानकारी दिए । निकुञ्जभित्र जीप सफारीका लागि बाटो बनाउने काम भइरहेको उनको भनाइ छ । बरालले भने, ‘सबैतिर सहज हुँदै गर्दा निकुञ्जले पर्यटकीय गतिविधि रोक्दैन ।’

सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला एक सय हाराहारीका रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.