www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा ५० प्रतिशत दूध खपतमा ह्रास

तनहुँ ।

तनहुँमा ५० प्रतिशत दूध खपत घटेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्थित होटेल व्यवसाय बन्द भएसँगै दूधको खपतमा कमी आएको हो ।

जिल्लामा दैनिक तीन हजार लिटर दूध सजिलै खपत हुने गरेको भए पछिल्लो समय कोरोना महामारीका कारण होटल व्यवसाय बन्दभएपछि एक हजार पाँच सय लिटर मात्र खपत भइरहेको जिल्ला दुग्ध उत्पादक संघले जनाएको छ । संघका अनुसार अहिले दैनिक तीन हजार लिटर दूध संकलन भइरहेको छ । जिल्लामा खपत भएर बाँकी रहेको करिब एक हजार पाँच सय लिटर दूध पोखरास्थित सुजल डेरीमा ल्याउने गरिएको छ ।

Batas

दूधको खपतमा कमी आएपछि संघले घीउ, पनिर, नौनीलगायत दूधका परिकार बनाएर विक्री गर्दै आएको संघका सचिव राजु भुजेलले बताए । संघले जिल्लाको व्यास, शुक्ला गण्डकी र भानु नगरपालिका तथा म्याग्दे, आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाबाट दूध संकलन गर्ने गरेका छन् । खपतपछि संकलन गरिएको दूधलाई चिलिङ भ्याटमा राखेर चिस्यान गरिने र दुग्धजन्य परिकार बनाएर विक्री गर्ने गरेको उनले बताए ।

गोरखा, लमजुङ र तनहुँ जिल्लामा उत्पादन गरिएको दूध संकलन गर्ने गरी व्यास नगरपालिका–११ रानीगाउँस्थित संघको आफ्नै भवन छ । विसं २०५३ मा भाडाको घरमा पाँच वटा दुग्ध सहकारी संस्थाबाट स्थापना गरिएको यो संघमा अहिले १८ सहकारी संस्था आवद्ध भैसकेको संघका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए । संघले किसानबाट प्रतिलिटर ५६ देखि ५८ रुपैयाँमा दूध खरिद गर्ने गरिएको उनले बताए ।

संघको आफ्नै भवन

लामो समय देखि भाडाको घरमा सञ्चालन हुँदै आएको जिल्ला दुग्ध सहकारी संघले आफ्नै भवन निर्माण गरेको छ । करिब एक रोपनी जग्गा खरिद गरी ८० लाखको लागतमा भवन निर्माण गरेको संघले जनाएको छ । संघमा हाल २२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कम लागतमा बढी उत्पादन लिने नीति

कम लागतमा बढी उत्पादन लिनका लागि संघले आवद्ध किसानलाई समय समयमा आवश्यक तालिम र गोष्ठीको आयोजना गर्दै आएको छ । संघले व्यवसायिक पशुपालनतर्फ किसानलाई प्रोत्साहन गर्ने, किसानले उत्पादन गरेको दूध घरदैलोबाटै खरिद गर्ने र गुणस्तरयुक्त दाना उपलब्ध गराउने नीति लिएपछि दूध उत्पादनतर्फ किसान आकर्षित भएको अध्यक्ष शर्माको भनाइ छ ।

७५ प्रतिशत बोनस वितरण

संघमा आवद्ध किसानलाई ७५ प्रतिशत बोनस वितरण गर्दै आएको छ । तीमध्ये २५ प्रतिशत संघको जगेडा कोषमा र बाँकी रकम शेयर बोनसमा खर्च गर्ने गरिएको छ । संघले वार्षिक १० देखि १५ करोड रुपैयाँको कारोबार गर्ने गरेको बताइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.