www.tandavnews.com
Fact ~ In search of truth

संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ : सभापति देउवा

काठमाडौँ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले सविधान दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै काँग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको यो ऐतिहासिक दिनलाई गौरव साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रुपमा मनाइँदै आइएको छ ।

Batas

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ । यसबाट उत्पन्न परिस्थितिले आम नागरिकको जीवन अत्यन्त कष्टकर र दयनीय बन्दै गएको छ । उनले उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरेका छन् ।

संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने सभापति देउवाले विश्वास लिएका छन् । संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरुपको व्यवहार जरुरी रहेको सभापति देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“काँग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ”, विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछिका दिनहरूमा संविधानको सफलताका लागि बाँकी कार्यभारहरु पूरा गर्नेभन्दा संविधानको भावना विपरीतका गतिविधि भइरहेको आरोप लगाउँदै उहाँले यसलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.