www.tandavnews.com
Fact ~ In search of truth

पाक्न थाले जुम्ली मार्सी धान

जुम्ला ।

जुम्लामा मात्र उत्पादन हुने जुम्ली मार्सी धान यतिबेला खेतमा पाक्न थालेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा कालीमार्सी धान खेतमा पाकेको छ ।

जुम्लामा फलेको जुम्ली मार्सी धानबाट उत्पादनहुने चामल देशका विभिन्न शहरमा राम्रो मूल्यमा विक्री हुने गरेको कालीमार्सी धान संरक्षण तथा प्रर्वद्धन केन्द्रका अध्यक्ष कलिमान महताराले बताए ।

Batas

उनले भने,‘काली मार्सी धानको संरक्षण स्थानीय सरकारले मात्र गर्न नसक्ने भएकाले प्रदेश सरकार र संघीय सरकारले किसानलाई विभिन्न राहतका कार्यक्रम ल्याउन आवश्यक छ ।’ हाल विभिन्न रोग तथा जलवायु परिर्वतनले गर्दा पनि धान उत्पादन घट्दै गएको किसानहरु बताउँछन् ।

स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वको कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ । राणाकालमा केन्द्रमा रहेका शासकहरूका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुराउने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । करीब ७०० वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी धान भित्र्याएको विश्वास गरिन्छ ।

कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । जिल्लामा २८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले बताए ।

यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुने गरेको यहाँका जानकार बताउँछन् । निकै पोषिलो र अत्याधिक कार्बोहाइड्रेट भएको काली मार्सी स्वास्थ्यवर्धक पनि मानिन्छ ।

मार्सी धानको चामल खैरो रङको हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग बढेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए ।

लामो समयदेखि जुम्लाबाट काली मार्सी चामल ल्याई काठमाडौँमा व्यापार गर्दै आएका जुम्लाका व्यापारी लालबहादुर रोकायाले कोरोनाले देश लकडाउन हुँदा व्यवसायमा सकस भएको उल्लेख गरे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.