www.tandavnews.com
Fact ~ In search of truth

बिचौलियाको मारमा केरा किसान

चितवन ।

पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको तीन रुपैयाँ हाराहारीमा बिक्री गर्छिन तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा १० रुपैयाँ सम्ममा किन्ने गरेकि छिन् ।

उनी मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गरिन्, ‘बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्यो ।’ आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले त्यहीअनुसारको मूल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिका–२६ भगडीमा १० बिघामा उनको पौलमी कृषि फार्म छ । त्यहाँको चार बिघामा चार हजार घारी केरा बिक्री योग्य भएको छ ।

Batas

आफ्नो बारीबाट व्यापारीले प्रतिकोसा तीन रुपैयाँमा उठाउने गरेको उनी बताउँछिन् । भारतको केरलाबाट झिकाइएको उच्चस्तरको बेर्ना लगाएको उनको भनाइ छ । पानीका कारण थप पाँच बिघामा लगाएको केरामध्ये ७५ प्रतिशत नष्ट भएको छ । यो पीडा हुँदाहुँदै बिक्रीयोग्य केराले पनि बजार मूल्य नपाउँदा आफू जस्ता कृषक मारमा परेको उनले दुखेसो पोखिन् ।

जिल्लाका स्थापित केरा कृषक लक्ष्मण सुवेदी बिचौलियाको मारमा परेको गुनासो गर्छन । बारीबाट प्रतिकोसा तीनदेखि चारमा बिक्री गरेको केरा उपभोक्ताले आठ रुपैयाँसम्म यहीँको बजारमा किन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । जिल्लाभरमा उनको मात्र ७५ बिघामा केराखेती लगाइएको छ । भरतपुरको गौरीगञ्जबाट थोक मूल्यमा उपभोक्तालाई केरा बिक्री गरेको उनले बताए। उनले भने, ‘मण्डी, खुद्रा व्यापारी हुँदै उपभोक्तामा पुग्दा धेरै महँगो भएपछि मैले फार्मबाट पनि खुद्रा बेच्न थालेँ ।’ आम कृषक र उपभोक्ता बिचौलियाको मारमा परेको सुवेदीको भनाइ छ । सुवेदी २१ वर्षयता यहाँ धेरै केराखेती गर्ने कृषकका रूपमा परिचित छन् ।

चितवन केरा उत्पादक संघका अध्यक्ष घानाथ महतो केरा बारीबाट प्रतिकोसा डेढदेखि चार रुपैयाँसम्ममा बिक्री हुने गरेको भए पनि उपभोक्ताले दोब्बरभन्दा बढी तिरेर किन्नुपर्ने बाध्यता रहेको पीडा पोख्छन् । ‘जमानादेखि हामीले पीडा पोख्दै आएका छौँ । कसले सुनिदिने’, उनले भने,‘दुःख कृषकको तर नाफा बिचौलियालाई मात्र भयो ।’ जिल्लामा केराखेती गर्ने कृषकको संख्या ७०० रहेको छ । तीन हजार बिघाभन्दा बढीमा केराखेती गरिएको छ । एक बिघामा केराखेती गर्न करिब चार लाख खर्च हुन्छ । उनका अनुसार एक बिघामा एक हजार ६०० बोट लगाइन्छ । एउटा बोटमा ८० देखि १०० कोसा केरा फल्ने गर्दछ ।

अहिले बजारमा लुकीछिपी भारतीय केरा आइरहेकाले यहाँको केरा बिक्री कम भएको कृषक बताउँछन् । देशका विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा हुँदा केराको खपत कम हुँदै गर्दा बिचौलियाको मनोमानी अरु बढेको महतोको भनाइ छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.