www.tandavnews.com
Fact ~ In search of truth

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

चितवन ।

आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आउन लागेको आन्तरिक उडान र निकुञ्जका गतिविधिका कारण सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।

Batas

खुलेका होटलमा खासै पर्यटक आइनसकेको भए पनि टेलिफोनबाट सेवा र सुविधाका बारेमा जानकारी लिनेक्रम निकै बढेको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द अवस्थामा रहेको होटल असोज १ गतेदेखि खुल्न शुरु भएका हुन् ।

रेष्टुराँमा बसेर खान पाइँदैन भने जोरबिजोर प्रणालीमा दिनमा मात्र सवारी सञ्चालन गर्न पाइन्छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले होटल खुलेको भए पनि खासै पर्यटक नआएको बताए । उनले भने, ‘आजदेखि आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेकाले आश जगाएको छ ।’

असोज ७ गतेपछि क्रमशः पर्यटक आउन शुरु गर्ने अनुमान उनको छ । ठाउँठाउँबाट आन्तरिक पर्यटकले फोन गरिरहेकाले दशैँ अगाडिसम्म पुग्दै गर्दा पर्यटकको राम्रो चहलपहल हुने उनको अनुमान छ । होटल बन्द भएपछि भएको फोहर र झाडी सफा गर्ने काममा व्यवसायी जुटेका छन् । सौराहामा पर्यटक चढाउनका लागि राखिएका ५० वटा निजी हात्तीमध्ये भाडामा ल्याएका १० वटा फिर्ता गरिसकिएको उनले जानकारी दिए ।

संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेको होटल जंगल सफारी लजमा शनिबार पाँच वटा कोठामा पाहुना थिए । फाट्टफुट्ट आन्तरिक पर्यटक आउन थालेको र निकै टेलिफोन आइरहेको घिमिरेले जानकारी दिए । घरमा बस्दाबस्दा दिक्क भएका र काम विशेषले आउनु परेका सौराहा आउने गरेको उनको भनाइ छ । उनले भने, ‘क्रमशः पर्यटकको सङ्ख्या बढ्दै जान्छ भन्नेमा हामी विश्वस्थ छौँ ।’

होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडी भने दशैँ अघि होटल खोल्ने मनस्थितिमा छैनन्। उनले भने,‘ठूलो समूह आएमा व्यवस्थापन गर्ने भए पनि दशैँ अघि होटल खोल्ने मनस्थितिमा म छैन ।’ खर्च बढ्ने र रोगको डरले केही व्यवसायी पर्ख र हेरको अवस्थामा छन् ।

सौराहामा रहेका रेस्टुराँमा सरसफाइ र तयारी थालिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यही असोज ७ गतेपछि खोल्नका लागि सबैले तयारी शुरु गरेका छन् । आन्तरिक उडान र पर्यटकीय गतिविधि शुरु भएसँगै पर्यटक बढ्ने उनको अनुमान छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सामुदायिक वनमा हात्ती प्रवेश आजदेखि खोलिएको बताए। सौराहाको कुमरोज र बाघमारा चित्रशेन मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई हात्तीमा चढाएर घुमाउने गरिन्छ ।

ती वन क्षेत्रमा डुङ्गा सयर पनि गराइन्छ । बरालका अनुसार निकुञ्जमा पैदलयात्रा (जंगल वाक) पनि खोलिएको छ । छिट्टै बाटो मर्मत गरेर जीप सफारीको अनुमति दिने उनले जानकारी दिए।

चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेको भए पनि सोही महिनाको २८ गतेदेखि पुनःबन्द भएका थिए । सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला १०० हाराहारी रेस्टुराँ छन् । सौराहाका होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दाबढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.