www.tandavnews.com
Fact ~ In search of truth

ढोरपाटनका बाढी प्रभावितलाई बासको पिरलो

बागलुङ ।

ढोरपाटन नगरपालिका–९ लाँकुरीबोटकी लक्ष्मी विक अहिले मर्मास्थित मामाघर बस्छिन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले थातथलो गुमेपछि उनको परिवार आफन्तको आश्रयमा पुगेको हो ।

“आमाबुबासँगै हामी पाँच भाइबहिनी मामाघर बसेका छौँ”, विकले भनिन् , “हेर्दाहेर्दै घरजग्गा बाढीले लग्यो ।” सोही ठाउँका भीमबहादुर सुनार छ छोराछोरी र श्रीमतीसहित विद्यालयको कोठामा दैनिकी गुजारिरहेका छन् । बाढीले घर, पसल, जायजेथा सबै बगाएपछि सुनार परिवारको उठिबास भएको हो । “अहिले त विद्यालयमा ओत लागेका छौँ, पढाइ खुलेपछि कहाँ जाने ? परिवारको बिचल्ली हुने भयो”, सुनारले भने ।

Batas

बाढीबाट विस्थापित लालमती घर्तीको परिवार गोठमा बसेको छ । छ जना एउटै ठाउँमा कोचिएर सुत्नुपर्ने बाध्यता छ । “केही दिन देवरको घरमा बस्यौँ, अहिले भैँसी गोठलाई बारेर बसेका छौँ ।” बाढीले घरको नामोनिशानसमेत मेटेको उनले बताइन् । यसरी बाढीमा घरबास गुमाएका परिवार कोही टहरा, कोही विद्यालय, गोठ र छिमेकीका घरमा आश्रित छन् । दाताले दिएको राहतले साँझ–बिहान हातमुख जोडिए पनि बाढी प्रभावितलाई स्थायी बासको पिरलो छ ।

“राहतले छाक त टरेको छ तर बासकै समस्या भयो”, सुनारले भने, “घर बनाउन न पैसा छ, न जग्गा छ, सबथोक गुम्यो ।” सुनारले ‘लाकुँरीबोट किराना पसल’ सञ्चालन गर्दै आएका थिए । उनको पसल, गोदामसमेत बाढीले बगाउँदा झण्डै रु एक करोड बराबरको क्षति भयो । “सरकारले घर बनाइदिने भन्ने सुनिएको छ, नेताहरु आएर पनि बोल्नुभएको छ, खै कहिलेसम्म बन्छ हेरौँ”, उनले भने ।

सानो कुकबाट बाढीले विस्थापित भएकी दुर्गाकला विकले अब खोलानाला छेउ घर बनाएर बस्न सक्ने स्थिति नरहेको बताइन्। “अब जानाजानी यस्तो ठाउँमा बसे त फेरि खोला, बाढी आएर लग्छ, सरकारले जहाँ व्यवस्था गर्छ हामी त्यहीँ बस्छौँ”, उनले भनिन् । आफ्नो १० जनाको परिवार रहेकाले लामो समय आफन्तकोमा बस्न पनि अप्ठेरो हुने विकले सुनाइन् ।

सरकार र दाताहरुबाट जतिसक्दो छिटो घर बनाइदिन सके बाढी प्रभावितलाई ठूलो राहत मिल्ने वडा नं ९ का अध्यक्ष हरिबहादुर घर्तीले बताए । “व्यक्तिका घरदेखि बाढीमा क्षतिग्रस्त बनेका भौतिक संरचनाको पुनःनिर्माणमा केन्द्रित हुनुपर्छ”, उनले भने , “राहतले तत्कालको समस्या टरे पनि दीर्घकालीन व्यवस्थापन गर्न सके मात्र बाढी प्रभावितको पीडा कम गर्न सकिन्छ ।”

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले हिउँद लाग्नासाथ क्षतिग्रस्त घरको पुनःनिर्माण शुरु गरिने बताए । “एकीकृत खालको बस्ती बसाउन त्यहाँ सम्भव छैन, व्यक्तिले उपलब्ध गराउने जग्गामा सुरक्षित घर बनाइदिन्छौँ”, उनले भने । नगरप्रमुख नेपालीले नयाँ बन्ने सबै घरका छाना आफ्नो व्यक्तिगत लगानीमा जस्ताले छाइदिने प्रतिबद्धता जनाए । राहतबाट उठेको रकम घर पुनःनिर्माणमा अपुग भए नगरपालिकाले थप्ने उनको भनाइ छ । यस्तै जग्गै नभएका परिवारलाई पनि नगरपालिका र अन्य दाता मिलेर जग्गा व्यवस्थापन गर्ने भएका छन् ।

जग्गा र खेतीपाती अन्यत्रै भएका परिवारहरुलाई एउटै बस्ती बनाएर राख्न अव्यवहारिक हुने जनाइएको छ । कृषि र पशुपालनमा निर्भर त्यहाँका बासिन्दा हिउँदमा बोबाङ र वर्षायाममा ढोरपाटन बस्छन् । दोहोरो बसाइ भएकाले अधिकांशका दुवैतिर घर छन् ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा गृहमन्त्री रामबहादुर थापा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि घर पुनःनिर्माणमा सङ्घ तथा प्रदेश सरकारले सघाउने प्रतिबद्धता जनाएकाले बाढी प्रभावितमा थप आशा जागेको छ । बाढीले वडा नं ९ का मात्र १०३ घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्याएको छ । यस्तै वडा नं ८ का आठ घर पूर्ण र नौ घरमा आंशिक क्षति छ । बाढीबाट वडा नं ७, ६ र ५ सम्मै प्रभावित छ ।

सडक, विद्यालय, पुल, लघुजलविद्युत् आयोजना, सामुदायिक स्वास्थ्य एकाइलगायत सयौँ भौतिक संरचना क्षतिग्रस्त छन् । हजारौँ रोपनी खेतीयोग्य जमिन बगर पल्टेको छ । बाढीले लाँकुरीबोट, दुनेपँधेरा, भुसुण्डे, सुप्राङ, घट्टबोट, चेप्टाजुर, दुवाल, फल्लेघरलगायतका बस्तीमा सबैभन्दा धेरै क्षति पुगेको छ । बाढीमा २२ जनाले ज्यान गुमाए भने १५ अझै बेपत्ता छन् ।

(रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.