www.tandavnews.com
Fact ~ In search of truth

नदीनाला बहाव बढ्दै : बाढी पहिरोले १४ को मृत्यु, ७ बेपत्ता

काठमाडौं ।

पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ ।

ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ । अन्य सात जना हराइरहेका छन् भने तीन जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए।

Batas

प्राप्त विवरणअनुसार कपिलवस्तुमा विद्युत् प्राधिकरणको गाडी खोलाले बगाउँदा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिकामा घर पुरिँदा पाँच बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । यस्तै धनकुटाको महालक्ष्मीमा पनि एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा एक जना र वालिङ नगरपालिका–१४ मा दुई घर पुरिँदा नौ जनाको मृत्यु भएको केन्द्रका प्रमुख वस्तीले बताए । यस्तै बाग्लुङमा पनि विपद्मा परेर एक जनाको ज्यान गएको छ ।

लगातारको वर्षाका कारण नदीनालामा बहावसमेत बढ्न थालेको छ । अझै केही दिन वर्षा जारी रहने र बाढी पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सरेर बस्न सरकारले आम नागरिकलाई आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि शुक्रबार नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगङ्गा र त्यसका सहायक नदीमा बहाव खतरा आसपास हुनेछ । यस्तै कर्णाली, कोशी, कनकाई, कमला, वाग्मतीमा सतर्कता आसपास हुने भएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका १÷२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्णः मौसम बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षा र केही ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.