www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीः स्वास्थ्य चौकीमा गोप्य कक्ष छैन, उपचार प्रभावित

म्याग्दी ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेकी रिया छन्त्याललाई बिरामी भएर स्वास्थ्य संस्थामा गए पनि स्वास्थ्यकर्मीलाई आफ्नो समस्या खुलेर बताउन असहज लाग्छ ।

बिरामीको स्वास्थ्य परीक्षण गर्ने छुट्टै गोप्य कक्ष नहुँदा सो वडाका अन्य नागरिक पनि छन्त्यालको जस्तै समस्या झेल्न बाध्य छन् । ‘एउटै कोठाबाट सञ्चालित स्वास्थ्य चौकीमा कोही नभएको मौका छोपेर जानुपर्ने बाध्यता छ’, उनले भने, ‘स्वास्थ्य परीक्षण गराउने ठाउँ पनि सहज छैन ।’

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने घ्यासीखर्कस्थित स्वास्थ्य चौकीमा पूर्वाधार अभाव हुँदा सेवा प्रभावित भएको छ । डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सुविधासम्पन्न भवन तीन वर्षमा पनि सकिएको छैन ।

कुइनेमङ्गले स्वास्थ्य चौकीले करिब ३० वर्ष पुरानो एककोठे भवनबाट सेवा दिइरहेको छ । रघुगङ्गा नदीको कटानको जोखिममा रहेको स्वास्थ्य चौकी भवनमा एउटा मात्र कोठा छ । बिरामी जाँच्ने, गर्भ परीक्षण गर्ने, औषधि भण्डारण गर्नेदेखि प्रशासनिक काम एउटै कोठाबाट सञ्चालन गर्नुपरेको स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र बुढामगरले बताए ।

जीर्ण भवनको साँघुरो कोठाबाट सेवा लिने नागरिक र दिने स्वास्थ्यकर्मीलाई असहज भएको छ । दुर्गम क्षेत्रमा पर्ने सो स्वास्थ्य चौकीबाट घ्याँसीखर्क, कुइने, चौरखानी, खरिबोट, दाड, दुवाडी, पात्लेखर्कका बासिन्दाले सेवा लिने गर्छन् । दैनिक कम्तीमा १० जनाले सेवा लिने गरेका छन् ।

पूर्वाधारको अभावका कारण सुरक्षित प्रसूति सेवा शुरु गर्न सकिएको छैन । गर्भवतीहरु सुत्केरी हुन चिमखोला र बेनी पुग्नुपर्ने बाध्यता रहेको पात्लेखर्कका बासिन्दा रहेकी वडा सदस्य प्रिती पुनले बताए ।‘खर्चको जोहो गर्न सक्नेहरु सुत्केरी हुन बेनी र पोखरा जान्छन’, उनले भने, ‘आर्थिक जोहो गर्न नसक्ने विपन्न गाउँमै असुरक्षित प्रसूति हुन बाध्य छन् ।’

असुरक्षित प्रसूति हुँदा बच्चा र आमाको ज्यान जोखिममा परेको छ । सुविधासम्पन्न भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा समस्या भएको हो । विसं २०७४ भदौमा संघीय सरकारअन्तर्गतको शहरी विकास विभागको भवन डिभिजन कार्यालले भवन निर्माण शुरु गरेको थियो ।

दुईतले भवन बनाउन मसुद–बिएन–त्रिशक्ति जेभीसँग एक करोड ६० लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । अठार महिनामा सम्पन्न गर्नुपर्ने भवन निर्माणले अझै पूर्णता नपाएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष गमान छन्त्यालले बताए ।

‘ठेकेदारले फर्निचर, घेराबार र प्रवेशद्वारलगायतका काम सकेर हस्तान्तरण गरेकाले नयाँ भवन भवन प्रयोगमा ल्याउन सकिएको छैन’, उनले भने, ‘नयाँ भवन निर्माण सकेर छिटो हस्तान्तरण गरी सेवा प्रवाहलाई सहज बनाउन र रघुगंगा नदीको कटान नियन्त्रण गर्न ताकेता गरिरहेका छौँ ।’

निर्माण कम्पनीका प्रतिनिधि निराजन खतिवडाले २०७५ भदौमा रघुगंगा नदीमा आएको बाढी पसेको र भौगोलिक विकटतालगायतका कारणले ढिलाइ भएको भवन दशैँअघि नै हस्तान्तरण गरिने प्रतिक्रिया दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.