www.tandavnews.com
Fact ~ In search of truth

वालिङका सामुदायिक विद्यालयले टोलटोलमा पुगेर पढाउन थाले

स्याङ्जा ।

स्याङ्जाको वालिङका सामुदायिक विद्यालयले टोलटोलमा पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेका छन् ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमका कारण प्रभावित बनेको अध्यापन कार्यलाई निरन्तरता दिनका लागि विद्यालयले टोलटोलमै शिक्षकलाई खटाएर पढाउन शुरु गरेका हुन् ।

Batas

वालिङ नगरपालिकाभित्र रहेका ७३ सामुदायिक विद्यालय र १५ संस्थागत विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी सिकाइ सहजीकरण गर्न अनुरोध गरिएअनुसार विद्यालयले टोल–टोल विभाजन गरेर सिकाइ क्रियाकलाप अगाडि बढाएका नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए ।

विद्यालयलाई विभिन्न पाँच वटा सिकाइका विधि तथा विकल्प दियौं र सोही विकल्पमध्ये आफ्नाआफ्ना विद्यार्थीलाई अनुकूल हुने विकल्पको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउन निर्देशन दिइएको शाखा प्रमुख सापकोटाले बताए ।

स्याङ्जा जिल्लाकै नमूनाका रुपमा रहेको वालिङ–१० स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले १२ वटा टोलमा १४ सिकाइ केन्द्रमार्फत शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले बताए ।

‘यस विद्यालयमा अध्ययनका लागि आउने विभिन्न टोलका विद्यार्थीलाई पायकपर्ने गरी टोल विभाजन गरेर पढाउँदै आएका छौंँ’, प्रअ लम्सालले भने , ‘सिकाइ केन्द्रमा सबै विषयसँग सम्बन्धित शिक्षकलाई आलोपालो गर्दै पठाउने गरिएको छ ।’

विद्यालयले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई सामाजिक दूरी कायम गराएर असोजको पहिलो साताबाट पढाउन शुरु गरेको हो । कोभिड–१९ को जोखिमका कारण विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउन सकिने अवस्था नभएकाले प्राप्त निर्देशिका अनुसार अगाडि बढिएको प्रअ लम्सालले बताए ।

वालिङ खहरेस्थित रणवीर जनहित माध्यमिक विद्यालयले पनि टोल टोलमा पढाउन शुरु गरेको छ । विद्यालयले विभिन्न नौ वटा टोल विभाजन गरी विषयगत शिक्षकको तालिका बनाइ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरेको विद्यालयका प्रअ लक्ष्मीप्रसाद रेग्मीले बताए ।

अनलाइन शिक्षण सिकाइ क्रियाकलाप भन्दा टोल–टोलमा बनाइएको सिकाइ केन्द्रमा शिक्षक विद्यार्थी उपस्थित भएर गरिएको अध्यापन कार्य बढी प्रभावकारी हुने गरेको प्रअ रेग्मीको अनुभव छ ।

टोलटोलमा पुगेका शिक्षकले कोभिड–१९ ले पारेको संकटका बेला मनोसामाजिक परामर्श दिने, लेखन सीपसम्बन्धी कला, नियमित हात धुने बानीको विकास र आवश्यक सरसफाइसम्बन्धी जानकारी गराउने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले सामुदायिक तथा संस्थागत विद्यालय सुचारु नगर्न नगराउन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार सञ्चालन गर्न निर्देशन दिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.