www.tandavnews.com
Fact ~ In search of truth

बेनी–जोमसोम सडक १८ दिनपछि सञ्चालन

म्याग्दी ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ ।

म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि भदौ २९ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत बन्द भएको थियो ।

Batas

बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण कम्पनीका डोजर परिचालन गरेर पहिरो पन्छाउने, नयाँ बाटो खोल्ने र डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिए ।

भिरमा चट्टान फुटाउनका लागि नेपाली सेनाको सहयोगमा विष्फोटक पदार्थसमेत प्रयोग भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङमा आवतजावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र स्याउ बजार पठाउन रोकिएको थियो ।

सडक खुलेपछि सवारी साधन गन्तव्यतर्फ लागेका आयोजनाका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । ठाउँठाउँमा गाडी परिवर्तन गर्नुपर्ने समस्या हटेको उनले बताए । यसअघि असार २६ गतेदेखि अवरुद्ध सडक भदौ ९ गते ४५ दिनपछि सञ्चालन भएको थियो ।

मुस्ताङवासीको जनजीवनलाई सहज बनाउन, विकास निर्माणका कामलाई गति दिन र करोडौँ मूल्यका स्याउ समयमै बजार पु¥याउनका लागि बेनी–जोमसोम सडकमा नियमित सवारी सञ्चालन गराउन पहल गरिएको सांसद प्रेमप्रसाद तुलाचनले बताए। आयोजना, निर्माण कम्पनी, स्थानीय प्रशासन, सुरक्षा निकाय, पालिकासँग समन्वय गरेर सडक खुलाउन पहल गरिएको उनले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.