www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा दुई सातामै १८ फरार प्रतिवादी पक्राउ

पर्वत ।

पछिल्लो दुई सातायता पर्वत प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ । अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका प्रतिवादी धमाधम पक्राउ गर्न थालिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई सातामा १८ फरार प्रतिवादी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि १७ वर्षदेखि फरार सूचीमा रहेकी श्यामला क्षेत्रीलाई पर्वत प्रहरीले असोज १४ गते कुश्माबाट पक्राउ ग¥यो । पर्वत जिल्लाको फलेवास नगरपालिकाकी ५० वर्षीया क्षेत्रीलाई कुश्माबजारमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यस्तै सर्वोच्च अदालतले विसं २०६० मै दोषी ठहर गरे पनि पक्राउ पर्न नसकेकी क्षेत्रीले दुई वर्ष पाँच महिना पाँच दिन सजाय भुक्तान गर्न बाँकी भए पनि पक्राउ परेकी थिइनन् ।

Batas

सवारी ज्यान मुद्दामा अदालतबाट विसं २०६७ मा दोषी ठहर भएका मोदी गाउँपालिका–६ तिलहारका ३५ वर्षीय दीपेन्द्र सुनार पनि १० वर्षपछि पक्राउ परे । पर्वत जिल्ला अदालतबाट एक वर्ष ११ महिना दुई दिन सजाय पाएका सुनारलाई प्रहरीले असोज १२ गते पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भए पनि लुकीछिपी बस्दै आएका क्षेत्री र सुनारजस्तै लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पर्वत प्रहरीले पक्राउ गर्न थालेको हो ।

बैकिङ कसुरमा उच्च अदालत तुलसीपुर, मुकाम बुटवलबाट विसं २०७६ वैशाख ८ मा गरेको फैसलाबाट दोषी ठहर भएका पर्वतको जलजला गाउँपालिका वडा नं २ का ३० वर्षीय कृष्णबहादुर कार्कीलाई पनि उनकै घरबाट पक्राउ गरेको छ । बुटवलबाट घरमा आई लुकीछिपी बसेको अवस्थामा कार्कीलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतको मुद्दा शाखाका प्रमुख प्रहरी नायब निरीक्षक मोहन खड्काका अनुसार जुवा मुद्दामा सजाय पाएर फरार सूचीमा रहेका छ पक्राउ परेका छन् भने कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेका दुई पक्राउ परेका छन् । लागुऔषध, बैकिङ कसुर, भ्रष्टाचार मुद्दा, सवारी ज्यान र केही सार्वजनिक मुद्दाका एक–एक, झुटो विवरण पेश गरी नागरिकता लिएका दुई तथा जालसाज मुद्दाका तीन जना प्रतिवादी पक्राउ परिसकेका छन् ।

पर्वत प्रहरीले यस अवधिमा पक्राउ गरेका फरार प्रतिवादीबाट पाँच वर्ष तीन महिना दुई दिन कैद र ११ लाख ४८ हजार १०० जरिवाना असुल गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताए ।

अदालतबाट दोषी ठहर भए पनि समाजमा लुकीछिपी बस्ने फरार प्रतिवादी पक्राउ नपर्दा समाजमा अपराधका घटनाले प्रोत्साहन पाउँदै आएका छन् । साजय पाएका व्यक्ति खुला हिँड्दा निरपराध मानिसको मनोवलसमेत खस्कने गरेको छ ।

पर्वत जिल्लामा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको र यसमा सफलता मिल्दै गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.