www.tandavnews.com
Fact ~ In search of truth

उपत्यकामा संक्रमण बढ्यो, सेवाग्राहीको भीड घटेन

काठमाडौं ।

काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन ।

यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्राही भने आफ्नो काम चाँडो सकाउने हतारका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाउन ध्यान नदिएको पाइन्छ ।

Batas

शुक्रबार एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्दा चालक अनुमतिपत्र र साना ठूला सवारी गरी दुवै कार्यालयमा सेवाग्राहीको भीड देखिन्थ्यो । त्यहाँको भीड नियन्त्रणका लागि सुरक्षाकर्मी खटिएका छन् । कार्यालयले साबुनपानीको व्यवस्था गरेको छ भने सन्देशमूलक प्रचार सामग्री गेटबाट छिर्नासाथ राखेको छ । कार्यालयले सेवाग्राहीलाई दुरीमा रहनका लागि पालो कुर्ने ठाउँमा पनि गोलो घेरा बनाएको छ । त्यसको पालना भने कम छ ।

सेवाग्राहीको चाप धेरै भएकाले दूरी कायम गर्न कठिन भइरहेको चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादूर कार्कीले बताउनुभयो । उहाँका अनुसार यहाँ साता जना सुरक्षाकर्मी भीड नियन्त्रणकै लागि खटाइएको छ । कार्यालयले नियमित रुपमा नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गर्ने, अनुमतिपत्र वितरण र नवीकरणको काम गर्दै आएको थियो ।

कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा कार्यालय बन्द थियो । गत असारदेखि कार्यालय खुलेसँगै अनुमतिपत्र वितरण र नवीकरण हुँदै आएको छ । केही समय पहिले भीड बढेको भन्दै अनुमतिपत्र वितरणसमेत केही समय रोकिएको थियो । सेवाग्राही सजग हुँदा मात्रै सेवा नियमित गर्न सकिने उनको भनाइ छ ।

कार्यालयमा अहिले नवीकरणका लागि झण्डै चार सय सेवाग्राही आइरहेका छन् । उपत्यकाका कतिपय यातायात कार्यालयले सेवाग्राहीको भीड कम गर्न जोर र बिजोर नम्बर गरी सेवा दिएका छन् । यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा विगत वर्षदेखि छाप्न बाँकी अनुमतिपत्र छापिसकेको छ ।

बन्दाबन्दीपछि असारमा झण्डै दुई लाख अनुमतिपत्र छापिएर आएको थियो । धेरै अनुमतिपत्र एकै पटक वितरण गर्नु परेकाले पनि कार्यालयमा भीड बढेको प्रमुख कार्कीले बताए । अहिले झण्डै एक लाख ४० हजार अनुमतिपत्र वितरण गर्न बाँकी भएको कार्यालयले जनाएको छ । चैत भन्दापछि नवीकरण भएका झण्डै १० हजार अनुमतिपत्र विभागबाट ल्याउन बाँकी छन् ।

अनुमतिपत्र वितरणका लागि पाँच काउन्टरमा १० जनाको व्यवस्थापन गरिएको छ । नयाँ अनुमतिपत्र बन्द भएकाले त्यो शाखाका कर्मचारी समेत अहिले नवीकरण र वितरणमा लगाइएको प्रमुख कार्कीले बताए ।

बन्दाबन्दी लगतै कतिपय कर्मचारी घर गएकाले फर्कन नसकेका र कतिपय क्वारेन्टिनमा रहेकाले समस्या थियो । अहिले यहाँका सबै कर्मचारी नियमित कार्यालय आइरहेका छन् । कार्यालयले आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको प्रमुख कार्कीले बताए ।

विगतका वर्षमा सेवाग्राहीले अनुमतिपत्रका लागि परीक्षा पास गरेको वा नवीकरणका लागि राजश्व बुझाएको दुई वर्षसम्म ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका थिएनन् । विगतमा फोटो नबुझिने वा अक्षर नबुझिने भएर कतिपयको पुनःछपाइ भएको थियो । विगतमा कार्यालयमा अनुमतिपत्र मिलाएर नराखेकाले पनि खोज्न बढी समय लागेको प्रमुख कार्कीले बताए। अहिले सकेसम्म मितिअनुसार अनुमतिपत्र चाङ मिलाएर राखिएको छ ।

कोभिडका कारण विद्यालय, कलेजलगायत विभिन्न कार्यालय बन्द भएकाले पनि कार्यालयमा सेवाग्राहीको भीड बढेको हुनसक्ने प्रमुख कार्कीको भनाइ छ । सामान्य अवस्थामा फुर्सद नपाएका सेवाग्राही अहिले आइरहेका छन् । सञ्चार माध्यमबाट अहिले विभागले चालक अनुमतिपत्र छापिसकेको खबर पाएकाले पनि सेवाग्राही आइरहेका बताइएको छ ।

यातायात कार्यालय जस्तै काठमाडौँ उपत्यकाका सेवा प्रदायक विभिन्न संस्थामा संस्थामा सेवाग्राहीको भीड कम हुन सकेको छैन । दशैँ तिहारलगायतका चाडपर्व आइरहेकाले पनि यी कार्यालयमा भीड बढेको छ । सामान्य अवस्थामा बढी भीडभाड हुने कार्यालयमा पर्ने यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, बैंकलगायतमा सेवाग्राहीको भीड देखिन्छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.