www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ कारागारमा आइसोलेसन कक्ष निर्माण

तनहुँ ।

तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा १५ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको छ । कारागारको पुरानो भवनमा आइसोलेसन कक्ष निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीमा कोरोना भइहालेमा बाहिर लगेर राख्दा भाग्न सक्ने खतरा रहेकाले कारागारभित्रै आइसोलेसन निर्माण गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए । पुरानो भवनको दुई कोठालाई हालै आइसोलेसन निर्माण गरिएको छ । उनले भने, ‘आइसोलेसन निर्माणपश्चात सुरक्षाका दृष्टिले पनि सहज भएको छ ।’

Batas

पच्चीस जना क्षमताको सो कारागारमा हाल १३२ कैदी र ६४ जना थुनुवा गरी १९६ कैदीबन्दी रहेका छन् । कारागार परिसरमा तीन भवन निर्माणपछि कैदीबन्दीलाई सजिलो भएको छ । ठाउँको अभावमा चिसो भूइँमा सुत्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

पुरानो भवनमा १०७ जना र अन्यलाई नयाँ भवनमा स्थानान्तरण गरिएपछि कैदीबन्दीलाई अहिले खाना बस्न, सुत्न र शौचालय प्रयोगमा सहज भएको छ । कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा ब्यारेक र बन्दीगृह गरी तीन वटा भवन भ्याटबाहेक छ करोड ४४ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।

नयाँ भवन निर्माणपछि ८० जनाभन्दा बढी कैदीबन्दी राख्न सकिने क्षमताको बन्दीगृह रहेको कारागारका सूचना अधिकारीले जानकारी दिए । पछिल्लो समय जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई कारागार पठाउन थालेपछि कैदीबन्दीको संख्या बढेको हो ।

कारागारमा रहेका कैदीबन्दीमध्ये अधिकांशले मुढा बुनेर मासिक सात हजारदेखि १० हजार रुपैयाँसम्म कमाउने गरेका छन् । बन्दाबन्दीका कारण मुढा बुन्न प्रयोग गरिने सामग्री ढुवानी हुन नसक्दा उनीहरुले मुढा बुन्न पाएका थिएनन् ।

कारागार भवनमा पुस्तकालय, भान्छाघर, डाइनिङ हल, सोलारको उज्यालो, एक गोल घर, चिसो तातो पानीले नुहाउने व्यवस्था, तीन सुरक्षा पोष्टलगायतका व्यवस्था रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन गोरखाद्वारा भवन निर्माण गरिएको हो ।

कारागारमा रहेका कैदीबन्दीमध्ये केही दिन अघि पाँच जनामा ज्वरो आउँदा कोभिड–१९ शंका लागि परीक्षण गर्दा नेगेटिभ आएलगत्तै त्यसपछि सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

जिल्ला कारागार प्रशासनले निर्माण सम्पन्न नयाँ भवनको दुई कोठालाई क्वारेन्टिन निर्माण गरेको छ । दैनिक नयाँ कैदीबन्दी थपिँदै जान थालेपछि सुरक्षालाई विचार गरी क्वारेन्टिन निर्माण भएको हो । नयाँ आएका कैदीबन्दीलाई १४ दिन क्वारेन्टिनमा राखेर मात्रै प्रवेश गराउन थालिएको सूचना अधिकारीले बताए । हाल उक्त क्वारेन्टिनमा आठ जना कैदीबन्दी रहेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.