www.tandavnews.com
Fact ~ In search of truth

भीमाद नगरपालिकाको सेवा आजदेखि अनिश्चितकालका लागि बन्द

तनहुँ ।

तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । समुदायस्तरमा कोरोनाको संक्रमण बढ्दै गएकाले नगरपालिकाले आजदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षा सम्बन्धी बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगरकार्यपालिकाको कार्यालयबाट कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य तथा सुरक्षासम्बन्धी कार्यबाहेक सम्पूर्ण कार्य र सबै वडा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिएका छन् ।

Batas

उनका अनुसार स्वास्थ्य, सुरक्षाबाहेक कुनै पनि किसिमका सवारी साधन आवतजावत नगर्न, सम्पूर्ण संघसंस्था, कार्यालय बन्द गर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।

भीमाद नगरपालिका–६ मा मंगलबार ३८, २०, १८ र ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो । यसअगाडि सोही वडाकै एक व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले समुदायस्तरका व्यक्तिको स्वाब संकलन गरेको थियो । कोरोना पुष्टि हुनेमध्ये १ जना वर्कसप, १ जना कपाल काट्ने व्यक्ति, १ जना सिलाइकटाई व्यवसायी र १ जना किराना पसल व्यवसायी छन् ।

व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएनन्

तनहुँको व्यास नगरपालिकाभित्रका व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाइएको छ । कोरोना जोखिम बढ्दै जाँदा पनि व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको व्यास नगरपालिकाले जनाएको छ ।

व्यवसायीले पसलमा मूल्यसूची नराखेको, बिनादर्ता पसल सञ्चालन गरेको, फुटपाथमा सामान राखी पैदलयात्रुको आवागमनमा अवरोध पु¥याएको व्यास नगरपालिकाले जनाएको छ ।

त्यस्तै बिक्री गर्ने सामानमा उत्पादन मिति र उपभोग्य मिति नभएको सामान बिक्री गरेको, खरिद गरेको मूल्यभन्दा ३ सय प्रतिशत बढीसम्म नाफा खाएर सामान बिक्री गरेको, व्यापारिक अनुमतिपत्रमा उल्लेख भएभन्दा फरक सामान बिक्री गरेको नगरपालिकाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले सबै मापदण्ड अनिवार्यरूपमा पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन व्यवसायीलाई सचेत गराएकोÞ छ ।

उत्पादन वृद्धि गर्न माटो परीक्षण

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का जनप्रतिनिधिले सुविधावापत प्राप्त गर्ने रकमले माटो परीक्षण गर्ने उपकरण खरिद गरेका छन् । उक्त वडाका अध्यक्ष कृष्णप्रसाद रेग्मीले आफूले पाउने तलब सुविधाबाट माटो परीक्षण उपकरण खरिद गरेका हुन् ।

वडाभित्रका खेतीयोग्य जमिनको माटो परीक्षण गरी उत्पादनमा वृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले २५ हजारको लागतमा माटो परीक्षण उपकरण खरिद गरिएको वडाध्यक्ष रेग्मीले जानकारी दिएका छन् । वडाभित्र नै दक्ष जनशक्ति तयार गरी बाह्रै महिना माटो परीक्षण एवं माटोसम्बन्धी परामर्श सेवा दिन २ कृषकलाई दक्ष बनाइने उनले जानकारी दिएका छन् । ‘२ कृषकलाई माटो परीक्षण तालिममा पठाउँछौं, तालिम लिएर आएपछि उहाँहरुले वडाबाट बाह्रै महिना माटो परीक्षण र परामर्श सेवा दिनुहुनेछ ।’ रेग्मीले भने ।

वडा कार्यालयले भरतपुरस्थित मातृभूमि कृषि सामग्री उद्योगको सहयोगमा माटो व्यवस्थापन तालिम एवं माटो परीक्षण सम्पन्न गरेको छ । वडाभित्रका विभिन्न ३० स्थानको माटो परीक्षण गर्दा माटोको गुणस्तर योग्य देखिएको छ । ‘पहिलो चरणमा आलुखेती हुने ठाउँको माटो परीक्षण ग¥यौं, उक्त माटो आलुखेतीका लागि योग्य देखिएको छ ।’ उनलने भने, ‘क्रमशः अन्य ठाउँका पनि माटो परीक्षण गर्छौं ।’

वडाभित्र १० हेक्टर जमिन रहेकामा ४ हेक्टर क्षेत्रफलमा विभिन्न खेती हुँदै आएको छ । अहिले धानको सिजन भएकाले बाँकी ठाउँको माटो परीक्षण गर्न नसकिएको रेग्मीले जानकारी दिएका छन् ।

‘माटो परीक्षणले कुन ठाउँको माटो कस्तो छ र त्यहाँ कस्तो खेती गर्ने भन्नेबारेमा पत्ता लगाउन सहज हुनेछ ।’ उनले भने, ‘माटो परीक्षणकै आधारमा कहाँ–कहाँ कुन खेती गर्ने भन्नेबारेमा कृषकलाई सुझाव दिनेछौं ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.