www.tandavnews.com
Fact ~ In search of truth

सरकारले दियो ढोरपाटनका बाढीपहिरो पीडितलाई ६१ लाख राहत रकम

बागलुङ ।

गत भदौ १७ गतेको बाढीपहिरामा परेर परिवारका सदस्य गुमाएका ढोरपाटन नगरपालिकाका पीडितलाई गृह मन्त्रालयले राहत रकम प्रदान गरेको छ ।

बाढीपहिराले क्षति भएको १ महिनापछि मंगलबार मन्त्रालयले जिल्ला प्रशासनमार्फत राहत उपलब्ध गराएको हो ।

Batas

बाढीपहिरामा परी मृत्यु भएका २२ र बेपत्ता १५ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले राहत रकम प्रदान गरेको हो । १ जना मात्रै मृतक रहेका परिवारलाई २ लाख, १ भन्दा बढी मृतक वा बेपत्ता परिवारलाई प्रतिव्यक्ति-बेपत्ता पहिलो मृतक वा बेपत्ताका परिवारलाई २ लाखमा १ लाख थप गरेर ३ लाख उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

त्यस्तै बाढीपहिराका कारण घरबास गुमाएका २० परिवारलाई तत्कालका लागि १५ हजारका दरले राहत वितरण गरिएको उनले बताएका छन् । ‘जसको घरबास सकियो, अन्य उपाय पनि छैन, उसलाई तत्कालका लागि समस्या समाधानका लागि १५ हजार दियौं ।’ न्यौपानेले भने, ‘निकै समस्या भएका परिवारले मात्रै यो रकम पाए, क्षति भएकालाई क्रमशः विधिसम्मत राहत उपलब्ध हुन्छ ।’

राहत रकम लिने सबैभन्दा धेरै बालबालिका छन् । बाढीपहिरामा आफन्त गुमाएका २३ बालबालिकाले राहत पाएका छन् । उनीहरुको नेपाल बैंक लिमिटेड बुर्तिबाङ शाखामा खाता खोलेर रकम जम्मा गरिएको छ ।

‘वयस्कहरुलाई नगद नै दियौं, बालबालिकाको रकम दुरुपयोग नहोस् भनेर बैंकमा राखिदियौं ।’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र न्यौपानेले भने, ‘बाल बचतमा रहेको उक्त रकम उनीहरुले वयस्क भएपछि प्रयोग गर्न सक्छन् ।’

बचतबाट आउने ब्याज रकमले उनीहरुको शिक्षामा सहयोग पुग्ने उनले बताएका छन् । पहिरोमा १ भन्दा धेरै सदस्य गुमाएका ७ परिवार छन् । बाढीपहिराले १ सय २७ घर बगाएको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार बस्नै नमिल्ने गरी भत्केका सबैघरको सूची गृह मन्त्रालय पठाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.