www.tandavnews.com
Fact ~ In search of truth

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सकियो

पोखरा ।

निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ ।

कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा सो प्रतिशत बराबरको काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जीनियर विनेश मुनंकर्मीले बताए ।

Batas

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दीपक पौडेल नेतृत्वको टोलीसँग बिहीबार भएको छलफलमा हालसम्मको प्रगतिका बारेमा जानकारी गराउँदै आयोेजना प्रमुख मुनंकर्मीले धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्याङ्गर एप्रोनको काम सम्पन्न भएको बताए ।

त्यसैगरी आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर भवनलगायतका विभिन्न १४ वटा भवनको सिभिल र कङ्क्रिट स्टिल संरचना तथा छाना छाउने काम सकिएको र फिनिसिङ र डेकोरेशनको काम बाँकी रहेको उनले जानकारी दिए । हाल चिनियाँ कामदार तथा कर्मचारी १८० तथा नेपाली ९० जना मजदुरले विमानस्थलको काम गरिरहेको र तोकिएको मिति सन् २०२१ जुलाई १० भित्रमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुने प्रमुख मुनंकर्मीले बताए ।

उनले भने, ‘कोरोनाका कारण अङ्ग्रेजी नयाँ वर्षदेखि नै आयोजनाको काम प्रभावित भएकाले छ महिनाअघि नै विमानस्थलको काम सक्ने हाम्रो लक्ष्य पूरा नभए पनि अबको काम उपकरण जडानको रहेकाले सामग्री आउनेबित्तिकै काम शुरु गरेर तोकिएको समयभित्रमा काम सम्पन्न गर्न सकिन्छ भन्ने विश्वासमा छौँ ।’

आयोजना समयमै सम्पन्न गर्न प्रदेश तथा स्थानीय सरकारबाट केही काममा अझै सहयोग आवश्यक रहेको बताउँदै उनले राजनीतिक दलको समेत साथ र सहयोग आवश्यक रहेको बताए। नेकपा महानगर कमिटीका अध्यक्ष पौडेलले कोरोना महामारीका बेलामा समेत आयोजनाको काम सञ्चालन भएकामा आयोजना परिवार तथा निर्माण कम्पनीप्रति आभार व्यक्त गर्दै राष्ट्रिय गौरवको आयोजना निर्धारित मितिभित्रमै सम्पन्न गरेर नयाँ सन्देश दिनुपर्ने बताए । आफ्नो पार्टीले आयोजना निर्माणका क्रममा आइपर्ने स्थानीयस्तरका हरेक समस्या समाधानका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.