www.tandavnews.com
Fact ~ In search of truth

चितवनको इच्छाकामना–६ कुयालघारीमा पहिलोपटक बिजुली

चितवन ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कुयालघारीमा पहिलोपटक बिजुली बत्ती बलेको छ । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले सोमबार ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गरेका थिए ।

बिजुली बलेसँगै कुयलघारीका ८७ घर उज्यालो भएका छन् । गाउँमा पहिलोपटक बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् । ३१ लाखको लागतमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँमा बिजुलीबत्ती बालिएको हो । सो ठाउँमा कोरोना कहरका बीच पनि विद्युतीकरणको काम तीव्र पारिएको थियो ।

Batas

सो अवसरमा प्रतिनिधिसभा सदस्य पोखरेलले कुयालघारीमा बिजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले गाउँलाई उज्यालो बनाउन गरेको मेहेनत पूरा भएको बताए । विभिन्न अप्ठ्यारा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत् प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै उनले सडक र बिजुली पुगेपछि दुर्गमका समस्या केही कम भएको बताए ।

म निर्वाचित हुँदा साविकको काउले, दाहाखानी, चन्डीभन्ज्याङमा बिजुली पुगेको थिएन’, उनले भने, ‘अहिले केही गाउँबाहेक सबै ठाउँमा बिजुली बल्छ ।’ उनले अर्को वर्षभित्र इच्छाकामना गाउँपालिकामा विद्युतीकरणको काम सम्पन्न हुने बताए ।

इच्छाकामना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले वषौँंदेखिको बिजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुशी भएको बताउँदै गाउँमा थप आयआर्जनको बाटो खुलेको बताए । सबैको पहल, प्रयास र हातेमालोले गाउँमा ढिलै भए पनि बिजुली पुग्दा स्थानीयवासी निकै हर्षित भएको उनले बताए ।

उनले आधामारा, तीनबाङ र बारसीभन्ज्याङमा बिजुली बत्ती बलिसकेको जानकारी दिए । अझै चार गाउँमा बत्ती बल्न बाँकी रहेको उनले बताए । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले बिजुली नहुँदा कुयलघारीका नागरिकले भोगेको पीडा देखेर आफूहरुले कोरोना कहरकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताए ।

सो ठाउँमा ५० केभिएको ट्रान्सफर्मर र डेढ किलोमिटर ११ हजार भोल्टेजको लाइन जडान गरिएको उनले जानकारी दिए । उनले इच्छाकामनाका सबै वडामा विद्युत् पुगेको भन्दै बाँकी गाउँमा क्रमशः काम गरिने बताए।

सो ठाउँमा बिजुली बाल्नका लागि २०७६-७७ मा बोलपत्र भएर काम अघि बढेको थियो । इच्छाकामना गाउँपालिकामा विद्युतीकरणका लागि केन्द्रीय सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.