www.tandavnews.com
Fact ~ In search of truth

२७ कर्मचारीमा संक्रमण भएपछि लमजुङको माथिल्लो दोर्दी ‘ए’ निर्माण बन्द

लमजुङ ।

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ ।

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रर्वधित आयोजनामा कार्यरत २७ कर्मचारीमा मंगलबार साँझ एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि आयोजनाको निर्माण बन्द गरिएको हो ।

Batas

आयोजनामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएकाले जोखिम र कामदारको अभावले आयोजनाको निर्माण बन्द गरिएको आयोजनाका राजेन्द्र वस्तीले बताए। आयोजनाको अधिकांश निर्माण सम्पन्न भई विद्युतगृहको काम बाँकी छ ।

हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको र आगामी मंसिरदेखि बिजुली बाल्ने तयारी भए पनि कोभिड १९ ले प्रभाव पार्ने देखिएको आयोजनाले जनाएको छ ।

आयोजना विसं २०७१ देखि थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौतानुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने समय गत चैत ३० गतेसम्म थियो ।

निर्माण लम्बिँदा लागत रु ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको छ । शुरुमा रु तीन अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल चार अर्ब ६३ करोड ६० लाख लाग्ने अनुमान आयोजनाले गरेको छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ ।

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र त्यत्तिकै लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत्गृहमा झारिने छ ।
आयोजनामा १२ दशमलव ५ का दुई वटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । आयोजनाको बिजुली हिउँदमा ८ र पैसा ४० तथा वर्षायाममा चार र पैसा ८ हुने गरी प्रर्वद्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.