www.tandavnews.com
Fact ~ In search of truth

बागलुङका सेना र प्रहरीमा संक्रमण बढ्दो

बागलुङ ।

नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना संक्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा संक्रमण पुष्टि भएको हो । यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो ।

त्यस्तै अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ संक्रमण पुष्टि भएको थियो । नेपाल प्रहरीमा पनि संक्रमित थपिँदै गएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १४ जनामा बिहीबार संक्रमण पुष्टि भएको हो ।

Batas

बिहीबार मात्रै नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत तीनसहित ५१ जना संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसीआर जाँचमा ४५ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

सङ्क्रमितमध्ये विदेशबाट आई क्वारेन्टिनमा बसेकासमेत छन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ५८५ पुगेको छ । केही समयअघि नियन्त्रणउन्मुख देखिए पनि अहिले फेरि संक्रमण दर बढ्दो छ । पछिल्लो दुई सातामा झण्डै २०० सङ्क्रमित थपिएका छन् ।

प्रमुख गुरौले अहिले ‘क्लस्टर’मा बढी संक्रमण देखिएको र समुदायस्तरमा फैलन नदिन उच्च सावधानी अपनाउनुपर्ने बताए । यात्रा विवरण नभएका र संक्रमितसँग प्रत्यक्ष सम्पर्क नभएका व्यक्तिमा पनि संक्रमण देखिन थाले त्यो चिन्ताको विषय हुने उनले उल्लेख गरे ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३८८ छ भने आइसोलेसनमा १९५ सङ्क्रमित छन् । क्वारेन्टिनमा रहेकाको संख्या ५६ छ । हालसम्म ८ हजार ७२२ जनाको पिसिआर जाँच गरिएको छ । संक्रमित हुनेमा पुरष ९१ र महिला ९ प्रतिशत छन् ।

कोरोना संक्रमणपछि निको भएको दर ७२.०७ प्रतिशत छ भने मृत्युदर ०.०४ प्रतिशत छ । यस्तै पिसीआर जाँचमध्येमा ५।०९ प्रतिशत संक्रमण दर रहेको कार्यालयले जनाएको छ । जिल्लामा पहिलोपटक गत चैत १५ मा कोरोना देखिएको थियो जुन नेपालकै पाँचौ संक्रमणको घटना थियो ।

जिल्लाका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । बुधबार बागलुङ नगरपालिका–२ का ७७ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा पोखरास्थित चरक मेमोरियल अस्पतालमा निधन भएको थियो । अस्पतालमै पिसिआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले बताए । उनमा कोभिड–१९ सहित मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या रहेको जनाइएको छ ।

यसअघि निसीखोला गाउँपालिका– २ का २९ वर्षीय युवकको कोरोना लागेर ज्यान गएको थियो । मृगौला र फोक्सोको समस्याबाट ग्रसित युवकको भारतबाट आई क्वारेन्टिनमा बसिरहेका बेला निधन भएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.