www.tandavnews.com
Fact ~ In search of truth

हिमाल पारीका भेडा-च्याङ्ग्रा पोखरामा

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

पोखरा महानगरपालिका ‘हर्न निषेधित क्षेत्र’ । तर पोखराको उत्तरी नाका हेम्जा, जौवारी भेगमा यतिबेला सवारी साधनलाई हर्न नबजाई सुखै छैन । कारण बनेको छ, हिमाल पारीका जिल्लाबाट पोखरा भित्राईएका भेडा र च्याङ्ग्राका बथान । यति बेला सडक किनारमा मात्र नभई बिच भागमा समेत भेडा र च्याङ्ग्राको बथान छन् । दशैंका लागि पोखरा ल्याईएका भेडा च्याङ्ग्राको बथानका कारण पोखरा–बाग्लुङ सडकखण्ड जाम नै हुन थालेको छ ।

याम्दी पुल आसपासमा च्याङ्ग्रा खरिद गर्न जाने सर्वसाधारण र विक्रिका लागि च्याङ्ग्रा धप्पाउदै पोखरा आउने व्यापारीहरुको ताँती उस्तै देखिन्छ । सो क्षेत्रमा ‘अलिकति थप्नुस र अलिकति घटाउनुस’ भन्दै सडक छेउकुनामा बार्गेनिङ चल्दै छ । यसरी कारोबार हुन थालेको केही दिन मात्र भएको छ भने बार्गेनिङ अझ केही दिन सम्म यथावत रहनेछ । विशेषगरी यी भेडा च्याङ्ग्राहरु मुस्ताङ, बझाङ, हुम्ला, सुर्खेत, डोल्पा लगायतका हिमाली जिल्लाहरुबाट पोखरा भित्राईएका हुन् ।

Batas

व्यापारीहरुका अनुसार गत वर्ष २५ हजार बढिको सँख्यामा पोखरा भित्राईएको थियो भने यस वर्ष ५ हजार बढिको सँख्यामा मात्रै पोखरा ल्याईएको छ । ‘पहिला २४÷२५ हजार च्याङ्ग्रा झर्थे भने यसपालि ४÷५ हजार भन्दा नझर्ने भए, व्यापारी रमेश खड्कीले ताण्डव न्यूजसँग भने, त्यही भएर पोखरामा मासुको भाउ पनि बढाएर बेच्नुपर्ने अवस्था छ । अहिले फेरी समय पनि यस्तो छ ।’

उनले मुस्ताङबाट ४ सय बढि च्याङ्ग्रा पोखरा भित्राएको बताउदै न्यूनतम मुल्य ३४ हजार रहेको बताए । उनले पोखरा भित्राउनका लागि गत वर्ष भन्दा कठिन भएको बताउदै कागबेनी र पशु भेटेनरी कार्यालयमा राजस्व तिरेको बताए । ‘कर दुई ठाँउमा तिरेउ । पोखरा ल्याउन गाह्रो भो, उनले भने, ‘पहिला वर्ष पहिरो गाथेन अहिले धेरै ठाउँमा गयो । पुलहरु बगाएको रहेछ त्यहाँ धेरै गाह्रो भयो ।’

उनले गत वर्षको तुलनामा यो वर्ष मुल्यमा बृद्धि भएको बताए । ‘यो वर्ष पहिला भन्दा केही बढेको छ, चाईनाबाट खशी पनि आएन र मुस्ताङको खोरपाले च्याङ्ग्रा भएर हामीलाई माथि नै बढि पर्याे त्यही भएर यसपालि अलिकति बढि परेको हो ।’

प्रत्येक व्यापारीले करिब ३ सय बढिको सँख्यामा भेडा–च्याङ्ग्रा बिक्रिका लागि पोखरा ल्याउने गर्दछन् । उक्त भेडा च्याङ्ग्राहरु खरिदका लागि काठमाडौं, चितवन, बुटवल, तनहुँ तथा स्याङ्जा लगायतका स्थानबाट आउने गर्दछन् ।

हरेक बर्ष यसको मुल्यमा केही न केही बृद्धि भएको खरिदकर्ताहरुको अनुभव छ । विशेषगरी दशैंमा भेडा च्याङ्ग्राको मासु खाने प्रचलन र जडिबुटी खाएर हुर्केका च्याङ्ग्राको मासु स्वास्थ्यबर्दक हुने मान्यता अनुरुपनै च्याङ्ग्रा खरिद गर्न पुगेको केही खरिदकर्ताहरुको तर्क छ ।

‘मासुहरुत सधै खाईन्छ, पोखरा महानगरपालिका १९ लामाचौरका तारा गर्बुजाले भनिन्, ‘तर अहिले वर्ष दिनको बडादशैं मान्ने क्रममा माथी लेकबाट ल्याईएको भेडा च्याङ्ग्राको मासु खादा स्वास्थ्यको लागि राम्रो हुन्छ भन्ने भएर भेडा लिन आएका हौ । हामीले हरेक वर्ष एक पटक यही ठाउँबाट लगेर खाने गरेका छौ ।’ उनले गत वर्ष भन्दा यस वर्ष मुल्यमा केही बृद्धि भएको बताईन् । ‘अहिले कोरोनाको महामारी पनि छ त्यही भएर पनि होला अलिकति मुल्यमा बढि पर्न गयो ।’ उनले भनिन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.