www.tandavnews.com
Fact ~ In search of truth

हराउँदै पिङ संस्कृति

लमजुङ ।

नेपाली हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ ।

लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ ।

Batas

झन् यस वर्ष कोभिड –१९ का त्रासका कारण दशैँका बेला हालिँदै आएको पिङ हालिएको छैन । विगतमा दशैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि जिल्लाका विभिन्न स्थानमा दर्जनौँ दर्जन रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ्र्यो । विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अंँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि विस्तारै टुट्दै गएको छ ।

आधुनिकताको विकास क्रमसँगै विभिन्न मेलामहोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ । दोर्दी गाउँपालिकाका बुद्धिमान श्रेष्ठले भने, ‘दशैंका बेला यहाँ केही वर्षसम्म लिङ्गेपिङ गाउँगाउँमा राखिन्थ्यो, खेलिन्थ्यो । त्यति मात्रै नभई प्रायःजसोका घरघरमा समेत बाबियोको डोरी बनाएर पिङ हालेर खेल्दै आयौँ तर अहिले घरघरमा त के, गाउँमै पिङ लोप हुन थालेको छ ।’

यस वर्ष कोभिड –१९ ले गर्दा पिङ हालेर भीडभाडसमेत गर्न नहुने भएकाले चाहना भएर स्थानीयवासीले पिङबाट मनोरञ्जन गर्न नसकेको उनको भनाइ छ । प्रत्येक वर्ष दशैँतिहारमा पिङ हाली खेलेर हुर्कँदै आए पनि केही वर्षदेखि पिङ नै लोप हुन थालेकामा राइनास नगरपालिकावासी चिन्ता गर्छन् । विगतमा वर्षेनी दशैंँतिहारमा लिङ्गे तथा रोटेपिङ हालेर खेल्ने खेलाउने गरिए तापनि गाउँघरमा केही वर्षदेखि लोप हुँदै गएको बेँसीशहर नगरपालिका –३ गाउँशहरका बासिन्दा बताउँछन् ।

स्थानीयवासी सुरेश श्रेष्ठका अनुसार गाउँलेले पिङ हाल्दै आए पनि रोटेपिङ निर्माण गर्नका लागि धेरै समय र खर्च, आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ । गाउँशहरमा रहेको लमजुङ दरबारनिर वर्षेनी हालिँदै आएको रोटेपिङ गत वर्षदेखि निर्माण भएको छैन ।

यस वर्ष पिङ हाल्ने स्थानीयवासीको सोच भए पनि कोभिड –१९ का कारण पिङ नबनाइएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयद्वारा केही दिनअघि एक सूचना जारी गर्दै भीडभाड नगर्न आग्रह गरिएपछि जिल्लाबासीले पिङ निर्माणप्रति चासो दिएनन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.