www.tandavnews.com
Fact ~ In search of truth

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार

कर्णाली ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रदेशसभा सचिवालयस्थित दलको कार्यालयमा आज बसेको बैठकले ध्वनिमतका आधारमा उक्त प्रस्ताव अस्वीकृत गरेको हो ।

प्रदेशसभा सदस्य एवं नेकपा कर्णाली प्रदेशका सह इञ्चार्ज यामलाल कँडेल नेतृत्वमा १८ सदस्यले गत असोज २५ गते संसदीय दलमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

Batas

उक्त प्रस्तावबाट सात सदस्यले हस्ताक्षर फिर्ता लिएलगत्तै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद समाधानका लागि मुख्यमन्त्रीसहित दुवै पक्षका नेताहरुलाई काठमाडौंँ बोलाएका थिए ।

कर्णालीको विवादबारे दुई अध्यक्षबीच सहमति नजुटेपछि मुख्यमन्त्री शाहीले सुर्खेत फर्किएर दलको बैठक बोलाउन प्रमुख सचेतक सीता नेपालीलाई निर्देशन दिएका थिए ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सहयोग गरेको आरोपमा मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई पदमुक्त गरी नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी तोकेका थिए ।

बैठकमा पूर्वमाओवादी पक्षका १० र पूर्वएमालेका माधवकुमार नेपाल नजीकका आठ जना गरी १८ सदस्यले ध्वनिमतका आधारमा उक्त प्रस्तावमाथि मतदान गरेका थिए । प्रमुख सचेतक नेपालीले मत घोषणा गर्दै दलका नेताविरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको जानकारी दिए ।

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने दलको बैठकमा उपसभामुख पुष्पा घर्ती तथा मन्त्रीद्वय दल रावल र नन्दसिं बुढा अनुपस्थित थिए। घर्ती पूर्वमाओवादी खेमा र मन्त्रीद्वय पूर्वएमालेका प्रधानमन्त्री ओली नजीकका मानिन्छन् । त्यस्तै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कँडेलसहित ११ सदस्य पनि अनुपस्थित थिए । कँडेल समूहले आजको बैठकलाई अवैधानिक बताउँदै बहिष्कार गरिएको जनाएको छ ।

आजको बैठकमा १८ सदस्य उपस्थित थिए । कर्णाली प्रदेशसभामा सभामुखबाहेक नेकपाका ३२ सदस्य छन् । मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथिको मतदानमा १८ उपस्थित थिए भने इतरसमूहका १४ सदस्यले बैठक बहिष्कार गरेका थिए ।

कंँडेल समूहका प्रदेशसभा सदस्य धर्मराज रेग्मीले प्रमुख सचेतकको नियुक्ति नै कानूनसम्मत नभएकाले उनले बोलाएको बैठकमा सहभागी नभएको बताए। पार्टीमा सहमति जुट्न बाँकी रहेका बेला हतारहतारमा बैठक राखेर मुख्यमन्त्रीले थप द्वन्द्व निम्त्याएको उनको आरोप छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.