www.tandavnews.com
Fact ~ In search of truth

दशैँका यात्रुलाई महामारीको त्रास: उपत्यका भित्रिने र छाड्ने घटे

काठमाडौं ।

कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको संख्या दशौँ लाख हुन्थ्यो ।

यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका वर्षमा आवतजावतको तथ्यांक जोड÷घटाउमा उपत्यका छाड्ने खुद व्यक्ति झण्डै १० देखि १२ लाख हुने गरेकोमा यसपाली भने एक लाखको हाराहारीमा रहेको बताउछन् ।

Batas

गत वर्ष कूल ३० लाखले उपत्यका छाडेका थिए भने १८ लाख भित्रिएका थिए । यसपाली दशैँमा भने तीन लाखले उपत्यका छाडे । झण्डै दुई लाख भित्रिएका छन् । कोभिड–१९ को महामारीका कारण यसरी यात्रु आवागमनमा प्रत्यक्ष प्रभावित भएका हुन् । दशैंँ सकिएपछि पनि उपत्यका भित्रिने यात्रुको संख्या बढ्न सकेको छैन । यही १३ गते २४ हजार यात्रु भित्रिएका छन् भने २० हजार बाहिरिएको विवरणले पनि उक्त कुराको पुष्टि गर्छ ।

पछिल्लो समयमा उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम छ । मुलुकभर देखिएको कूल संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेकाले पनि मानिस राजधानी आउन डराइरहेका जनस्वास्थ्य विज्ञको भनाइ छ ।

संख्यात्मक रुपमा विष्लेषण गर्दा यसवर्ष इतिहासमै पहिलो पटक मानिसको आवागमन न्यून भएको प्रहरीको दाबी छ । विसं २०७७ लाई छाड्दा २०७१ पछिको विवरणमा विसं २०७१ र २०७२ मा उपत्यकामा सबैभन्दा कम यात्रुको आवागमन भएको पाइन्छ ।

विसं २०७१ को दशैँमा ६५ हजार सवारी साधनमार्फत आठ लाख यात्रु बाहिरिएका र ५१ हजार सवारी साधानमार्फत पाँच लाख मानिस भित्रिएका थिए । यस्तै २०७२ सालमा ५९ हजार सवारी साधानमार्फत आठ लाख ३० हजार यात्रु बाहिरिएका र ५६ हजार सवारी साधनमार्फत पाँच लाख १६ हजार यात्रु भित्रिएका थिए । विसं २०७३ देखि २०७६ सम्म यात्रु भित्रिने र बाहिरिने अवस्था ह्वात्तै बढेको थियो ।

यसपाली भने सबै भन्दा कम यात्रुको चहलपहल देखियो । नयाँ संविधान निर्माण भई संघीयता कार्यान्वयनको समयमा शान्ति प्रक्रिया टुंगोमा पुगेको र शान्ति÷सुरक्षा अब्बल बन्दै गएकाले वातावरण सहज हुँदा यात्रुलाई एक ठाउँबाट अर्को स्थानमा जानआउन समस्या थिएन । तर यसपाली गत चैतबाट बढेको कोरोना महामारीले चाडबाडलाईसमेत नराम्ररी प्रभावित बनाएको तथ्यांकले देखाएको छ ।

प्रहरी प्रवक्ता कुबेर कडायत यसपालीको दशैँको बेलामा सवारीसाधन र यात्रुको आवातजावत कम हुँदा ठूला दुर्घटनासमेत नभएको बताउछन् । बजारमासमेत चहलपहल कम हुँदा आपाराधिक घटनामा समेत कमि देखिएको उनको भनाइ छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.