www.tandavnews.com
Fact ~ In search of truth

गृहको निर्देशन लत्याउँदै ल्वाङगाउँ :‘कोरोना रोक्न अनावश्यक तँगारो’

अर्जुन गाहा (सुशान्त)

पोखरा/ ताण्डव न्यूज ।

‘कोभिड–१९’ कोरोना भाईरसको जोखिम बढेसँगै गाउँमा पनि संक्रमण भित्रिन सक्ने भन्दै सतर्कताको नाममा माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङले गृह मन्त्रालयको निर्देशनलाई नै लत्याएको छ । ‘सरकारको नीति र गाउँको थिती’ भन्दै अनावश्यक तँगारो तेसार्दै गृह मन्त्रालयले जेठ ४ गते जारी गरेको निर्देशनलाई नै लत्याएको हो ।

Batas

मन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गराउने, टोलमा प्रवेश निषेश गर्ने, आवागमनमा पनि बाधा पुर्याउनेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने उल्लेख गरिएको थियो ।

तर पर्यटकीय गाउँ ल्वाङ प्रवेश गर्ने पाहुनाले कोरोना भित्राउन सक्ने भन्दै टोल विकास संस्थाले दैनिक ज्यालादारीमा दुई जनालाई ड्युटी मै खटाईने टोल विकास संस्थाको भेलाले निर्णय गरेको छ । टोल भेलाको निर्णयको ५ नं बुदामा उल्लेख गरिएको छ, ‘ माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङ टोल विकास संस्थाले यदि कोही कसै अटेर गरी गाउँ प्रवेश गरेमा सल्लाह सुझाव दिनका लागि दुई जना व्यक्ति खटाउने साथै पारिश्रमिक बराबर १ दिनको ८ सय रुपैयाँ दिने निर्णय गरियो । र बिहानको साढे ७ बजे देखी बेलुकी ८ बजे सम्म बस्ने निर्णय गरियो ।’

गत १४ गते शुक्रबार सेते गुरुङ (विजुली) को अध्यक्षतामा बसेको भेलाले तिहार (मंसिर २ गते बेलुकी) सम्म गाउँमा पर्यटकलाई मात्रै नभई एक रात गाउँ बाहिर बसेका गाउँलेलाई नै प्रवेश रोक गर्ने निर्णय गरेको छ ।

 

‘खुल्न त सबै बजारतिर नि खुलेकै छ, स्थानीय ग्रीनहिल क्लबका सचिव तथा ल्वाङ सामुदायिक होमस्टेका उपाध्यक्ष विश्वास गुरुङले ताण्डव न्यूजसँग भने, ‘हामी गाउँले नै वैठक बसेका थियौँ गाउँले नै मिलेर निर्णय गरेका थियौँ । सरकारको नीति गाउँको थिती भनेझै सकेसम्म गाउँभित्र छिर्न नदिन भनेर बन्द गर्ने निर्णय गरेको हो ।’ गुरुङले बाटोमा बाँस तेसारेर कोरोना नछेकिने स्वीकार्दै भने, ‘बाहिरी मान्छे होस् पर्यटक होस् सकेसम्म मंसिर २ गते बेलुकीसम्म रोक नै लगाएका छौ । अत्यावश्यक काममा मात्रै बजार जानेलाई छाडेका छौ । बिहान गयो बेलुका फर्किनै पर्ने अवस्था हुन्छ । तर एक दिन ढिलो भो भने हामीले आउन दिदैनौ । गाउँको मान्छेलाई जादा लाग्दैन भन्न सक्दैनौ तर अत्यावश्यक हेरेर मात्र पठाका छौ ।’

त्यस्तै ल्वाङ गाउँमा घर निर्माण गर्दै आएका रोल्पाका ठेकेदार गणेश बुढामगरले अत्यावश्यक काम हुदा समेत गाउँ प्रवेशमा रोक लगाएको गुनासो गरे । ‘बाहिरकोलाई आउन नदिएपछि आफुहरु पनि बाहिर जान भएननी, यो ठीक भएन आफुहरु बजार गाका छन् घुमेका छन्, उनले थपे, ‘अझ त्यो बाईकको पछाडि बसेर आको केटी आखिर त्यो केटासँगै बसेर आछनी, त्यो केटालाई नदिने केटीलाई जान दिने त्यो गलत भोनी । उहाँहरु कि गाउँ नै सिल गरेर यताउता हिड्न हुन्थेन । त्यो ठीक भएन ।’

यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले अनावश्यक रुपमा सार्वजनिक बाटो अवरोध गर्न र प्रवेशमा रोक लगाउन नपाईने बताए । ‘बाटो छेक्न बाटोमा अब्स्ट्रयाकल गर्न पाईदैन । त्यही अनुसार हामी मिलाउछौ । उनले भने, के अवस्था छ पहिला बुझ्छौ बाटो छेके अवरोध गरे कारवाही गर्न पर्ने अवस्था आए त्यो पनि गर्छाै । अहिले अवरोध गरेको छ भने पहिला सम्झाउछौ मान्नुभयो भने ठिकैछ । मान्नुभएन भने कानुन अनुसार कारवाहीका लागि अघि बढ्छौ ।’

उक्त गाउँमा प्रवेश निषेध गरिए पनि सोही वडामै पर्ने पोखरा क्यानोनिङ, घलेल, कुईबाङ होमस्टे लगायत निर्वाध सञ्चालन हुदैँ आएका छन् । साथै मर्दि तथा कोर्चाङ पदमार्ग मा पनि पछिल्लो समय आन्तरिक पर्यटकको लर्को देखिन्छ ।

सम्बन्धित समाचार

कास्की : ‘कोरोना छेक्न’ बाटोमा अनावश्यक तगारो

https://www.tandavnews.com/2020/04/40775

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.