www.tandavnews.com
Fact ~ In search of truth

नयाँपुलबाट पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

पर्वत ।

पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको हो ।

नयाँपुलबाट देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदमार्ग निर्माणको काम अहिले पनि जारी छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ७० लाखको बजेटबाट दुई वर्षअघि निर्माणको काम थालिएको पदमार्ग अन्तिम चरणमा पुगेको मोदी गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा संघ सरकारको समेत रु १० लाख बजेट पदमार्गमा खर्च भएको थियो ।

Batas

निर्माण सम्पन्न भएकोमध्ये १७ किलोमिटर पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । अहिले खोलिएको पदमार्गबाट प्रसिद्ध पर्यटकीयस्थल भमरकोटसम्म पुग्न सकिन्छ । देउपुरका स्थानीय मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्ग अब एक वर्षभित्र बनाइसक्ने लक्ष्य रहेको छ ।

अहिलेसम्म १७ किलोमिटर पदमार्गको काम सकिएको र अझै ११ किलोमिटरको काम अन्तिम चरणमा पुगेको खड्काले बताए । ‘प्रदेश सरकारबाट गत वर्ष बजेट आउन सकेन, संघबाट छुट्टिएको १० लाखले थप काम भएको छ’, उनले भने, ‘संघ र प्रदेशले आवश्यक बजेट विनियोजन गरे एक वर्षभित्रमै काम सकिनेछ ।’ पदमार्गमा झण्डै साढे दुई करोड खर्च हुने अनुमान छ । पदमार्गमा स्थानीय सीप, प्रविधि र सामग्रीको प्रयोग गरिएको छ ।

अर्कोतर्फ देउपुर हुँदै भमरकोटबाट माटेको लेकसम्मको ११ किलोमिटर पदमार्गले जोडिसकिएको छ भने माटेबाट जलजला हुँदै घोरेपानी जोड्न अब करिब ११ किमी दूरी बाँकी छ । जंगल र भिरको बाटोमा जोखिम मोलेरै भए पनि काम गरिरहेको खड्काले बताए । थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । पदमार्गले आसपासका गन्तव्यस्थलको प्रर्वद्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । ठूला घाँसेमैदान, दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । विभिन्न प्रजातिका चराचुरुङ्गी र जङ्गली जनावरसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइने उनले बताए ।

यसैबीच हालै गृहजिल्ला आएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जङ्गलमै बास बसेर उक्त पदमार्गको अवलोकन गरेका छन् । पदमार्गको अवलोकन साथै प्रचारप्रसार गर्न तिमिल्सिनासँगै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीलगायतको टोली एक रात जंगलमै बास बसेर पदमार्गको अवलोकन गरेका हुन् । बिहानको सूर्योदय र बेलुकाको सूर्यास्तसँगै टोलीले तीन हजार १०० मिटरको उचाइमा रहेको माटेसम्म पुगेको थियो ।

पदमार्गको अवलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्यटकीय क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएकाले पहिचान भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्ने गरी योजना बनाउन आफूले पहल गर्ने बताए । ‘भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा सडकको सम्भावना धेरै कम भएकाले यो राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ’, उनले भने, ‘यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ ।’ पोखरासँग यसलाई जोडेर पर्यटकीय पूर्वाधार बनाउने योजना अघि सारिएको उनले बताए ।

भमरकोटसँगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर बस्ती भुकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, घुरुङ्गालगायतका ठाउँमा घरबास (होमस्टे) सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन थालिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.