www.tandavnews.com
Fact ~ In search of truth

प्याराग्लाईडिङ : प्रत्येक कम्पनीले ६ फ्लिट सम्म उडान भर्न पाउने

अर्जुन गाहा (सुशान्त),
पोखरा /ताण्डव न्यूज ।

‘कोभिड–१९’ कोरोना महामारीका बिच पोखरामा प्याराग्लाईडिङ गर्नेको सँख्यामा बृद्धि भएपछि नेपाल हवाई खेलकुद संस्था (ना) ले केही मापदण्ड तय गरेको छ ।

गत १७ गते आईतबार बसेको बैठकबाट कोरोना भाईरसको संक्रमण फैलिरहेको अवस्थामा सचेतना सहित न्यूनीकरणमा सघाउ पुर्याउने उद्देश्य सहित संस्थाले स्वास्थ्य मापदण्ड तय गरेको हो ।

Batas

संस्थाका महासचिव बलराम आचार्यले कुनै एक कम्पनीले बढीमा ६ फ्लिट उडान भर्न पाउने गरि बैठकबाट निर्णय गरिएको बताए । ‘यस्तो अवस्थामा पनि युवायुवती क्रेज देखिएको छ, उनले भने, ‘अहिले माथि टेक अफ गर्ने र ल्याण्ड गर्ने ठाउँमा समेत भिड देखिएकाले सीमित सँख्या निर्धारण गरेका हौं ।’

उनले एक कम्पनीले दिनमा दुई सेडुअल उडान भर्न पाईने बताउदै भने ‘एक पाईलटले दिनमा दुईवटा गेष्ट मात्रै उडाउन पाउने गरि निर्णय गरेका छौ । अहिलेको समयलाई मध्यनजर गरेर भिडलाई कम गर्ने उद्देश्य सहित व्यवस्थापनमा लागेका हौं ।’

आचार्यले उडान संचालन गर्नुपर्ने समय तालिका अघिल्लो दिनमा नै जारी गर्नुपर्ने समेत जानकारी दिए । उडानलाई व्यवस्थित र सुरक्षित तवरले संचालनका लागि टेकअफ र ल्याण्डिङ आ–आफ्नो स्थानमा गर्नुपर्ने बताउदै आधारभुत स्वास्थ्य सामाग्री (शरिरको तापक्रम, मास्क, सेनीटाईजर) पाईलट तथा यात्रुले प्रयोग गर्नैपर्ने बताए ।

उनका अनुसार उक्त बैठकबाट उडान समय कम्तिमा २० मिनेट हुनुपर्ने निर्णय समेत गरेको छ । त्यस्तै कम्पनी संचालनका लागि ‘ना’बाट सिफारिस भएका ईजाजत पत्र (मन्त्रालय, खारेजमा नपरेको हुनुपर्ने), मनोरन्जनात्मक उडान अनुमति पत्र (CAAN) हुनुपर्ने बताईएको छ । त्यस्तै टेकअफ, ल्याण्डिङ तथा अफिसमा आवश्यक भौतिक दुरी कायम गर्नैपर्ने समेत निर्णय गरिएको छ ।

उनले पर्यटन मन्त्रालयमा दर्ता भएका ६० कम्पनी मध्ये पछिल्लो समय ५० वटा कम्पनी संचालनमा रहेको बताए । ‘अहिले पोखरामा ५० वटा कम्पनी अपरेशनमा छन्, कोभिडका कारणले केही कम्पनी संचालनका लागि तयारीमा छन्, महासचिव आचार्यले भने, ‘अहिले विदेशी छैनन् त्यसैले आन्तरिक पर्यटकलाई प्राथमिकतामा राखेर २ हजार ५ सय देखी ३ हजार ५ सय सम्म शुल्क लिएको पाईएको छ ।’ आचार्यका अनुसार पोखरामा पछिल्लो समय दैनिक ३०० बढी उडान हुदै आएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.