www.tandavnews.com
Fact ~ In search of truth

बेनी अस्पतालमा आइसियु छ, जनशक्ति छैन

म्याग्दी ।

गम्भीर बिरामीको उपचार गर्न म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष उपयोगविहीन बनेको छ ।

गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो । गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा आइसियु कक्षलाई सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

Batas

आइसियु कक्ष स्थापना गरिएको चार महिना भए पनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । गण्डकी प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष बनाउने प्रदेश सरकारको निर्णयबमोजिम म्याग्दीमा गत असारभित्रै दुई भेन्टिलेटर र पाँच शय्याको आइसियु मेशिन तथा उपकरण र सामग्रीको खरिद गरी जडानसमेत भएको थियो ।

प्रदेश सरकारमार्फत एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत एक करोड २५ लाखमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए । आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएसथीसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर अमृत अधिकारीले जानकारी दिए । तत्कालको लागि मेडिकल डाक्टर र स्टार्फ नर्सको व्यवस्थापन आन्तरिकरुपमा व्यवस्थापन गर्न सकिने भए पनि अन्य जनशक्ति थप गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

उनका अनुसार, अस्पतालमा अहिले आकस्मिकरुपमा छोटो समयको लागि मात्रै भेन्टिलेटरसहितको आइसियु कक्षमा बिरामीको उपचार गर्न सम्भव छ । अस्पतालमा पछिल्लो समय मिर्गौला पीडितको लागि डायलासिस सेवासमेत सुचारु गरिएको र कोरोनाका बिरामीको आइसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरसहितको आइसियु कक्षलाई नियमित सञ्चालन गर्न प्रदेश सरकार र विभागमा माग भए पनि अहिलेसम्म सुनुवाइ नभएको अध्यक्ष कटुवालले बताए ।

बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयले समेत सेवा लिँदै आएका छन् । जिल्लामा कोरोना सङ्क्रमितको संख्या बढ्दै जाँदा भेन्टिलेटरसहितको आइसियुको आवश्यकता थप बढेको छ । अहिले अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना संक्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पु¥याउनुपर्ने बाध्यता सिर्जना भएको अस्पतालले जनाएको छ ।

भेन्टिलेटरको आवश्यकता बढ्यो

जिल्लामा समुदायस्तरमै कोरोनाको संक्रमण फैलँदै गएपछि बेनी अस्पतालमा आइसियु र भेन्टिलेटरसहित सेवा सुचारु गर्न थप दबाब बढेको छ । अहिले अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पुर्याउनुपर्ने बाध्यता सिर्जना भइसकेको छ । आइसियु सञ्चालन नहुँदा यसै सातामात्रै गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई हेलिकप्टर चार्टर गरेर काठमाडौँ पु¥याइएको थियो ।

पछिल्लो समय बेनीमा लक्षणसहितका कोरोना संक्रमित बढ्दै गएकाले भेन्टिलेटरसहितको आइसियु सेवाको थप आवश्यकता बढेकाले समितिले त्यसको लागि सम्बन्धित निकायमा पहल गरिरहेको अध्यक्ष कटुवालले जानकारी दिए । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने आइसियु स्थापना भएका प्रदेशभित्रका जिल्ला अस्पताललाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी थालेको जनाएको छ ।

स्वास्थ्यकर्मीमाथि भार

बेनी अस्पतालमा रहेको दरबन्दीमध्ये विशेषज्ञ डाक्टरको जनशक्तिको चरम अभाव छ । दरबन्दीअनुसारको जनशक्ति नहुँदा एउटै व्यक्तिले दोहो¥याएर डियुटी गर्नुपर्ने बाध्यता आएको छ । अस्पतालमा एक जना मेडिकल सुपरीटेन्डेन्ट, आठ जना विशेषज्ञ र दुई जना मेडिकल डाक्टरको दरबन्दी रित्त रहेको छ ।

अस्पतालमा अहिले लोकसेवाबाट दुई जना मेडिकल अधिकृत, एक जना डेन्टल अधिकृत, एनएसआइएको तर्फबाट एक जना र करारमा पाँच जना गरी नौ जना डाक्टर कार्यरत रहेका छन् । हाल कार्यरतमध्ये तीन जना डाक्टरको सरुवा भइसकेको र अन्य केही डाक्टरको समेत सरुवा हुने क्रममा रहेको अस्पतालको प्रशासनले जनाएको छ । हिमाली जिल्लामा पर्ने म्याग्दीको बेनी अस्पताललाई सरकारले सुगममा राखेको र नम्बरमा पछि पर्ने भएकाले पनि यहाँ आउन डाक्टरले रुचि नदेखाउने गरेको पाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.