www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा जनप्रतिनिधि,व्यवसायी र कर्मचारीमा संक्रमण,तीन स्थानीय तह बन्द

म्याग्दी ।

जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् । मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित बैंक, वित्तीय र सहकारी संस्था बन्द भएका हुन् ।

धेरै जनसम्पर्क हुने व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्दाबन्दी भएको हो । मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले सरोकारवालाको सुझावका आधारमा कोरोना फैलिन नदिन बिहीबार रातिदेखि मंसिर १ गते राति १२ बजेसम्म बन्दाबन्दी गरिएको जानकारी दिए ।

Batas

छिमेकी बेनी नगरपालिका र मालिका गाउँपालिकाले सेवा तथा बजार बन्द गरेपछि मङ्गलाको केन्द्र बाबियाचौरका बैंक, वित्तीय र सहकारी संस्थाका साथै कार्यालयमा भीड र आवतजावत बढेको थियो । मङ्गलाका पाँच जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारसहित कार्यालय र भीडभाड हुने ठाउँलाई बिहीबारदेखि एक हप्ताका लागि बन्द गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले अतिआवश्यक र आन्तरिकबाहेकका काम तथा सेवा प्रवाह बन्द गरिएको बताए ।

दरवाङका एक सुरक्षाकर्मीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बेनी नगरपालिका र सदरमुकाम बेनी बजार कात्तिक १४ गतेदेखिनै बन्द भएको छ । सदरमुकाम बेनी बजारसँगै लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाको बजार क्षेत्र बुधबारदेखि एक हप्ताका लागि बन्द भएको छ ।

बैंक वित्तीय र सहकारी संस्था बन्द हुँदा सर्वसाधारणलाई आर्थिक कारोवार गर्न समस्या भएको छ । सार्वजनिक यातायात, ढुवानी र विकास निर्माणका काम भने सञ्चालन भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लोपटक थपिएकासहित म्याग्दीमा कोरोना संक्रमितको संख्या १०८ जना पुगेको छ । सक्रिय संक्रमित ३५ जना छन् ।

करिब दुई हजार स्वाबको नमूना परीक्षण गरिएको छ । गत हप्ता बेनीका एक वृद्धको कोरोना संक्रमणका कारण काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी असोज तेस्रो साता धौलागिरि गाउँपालिका–७ का एक वृद्धको पनि पोखरामा कोरोनाका कारण ज्यान गएको थियो ।

यसैगरी मालिका गाउँपालिकाले दरबाङमा कोरोना सङ्क्रमितको उपचारका लागि पाँच श्ययाको कोरोना अस्पताल र १५ श्यया क्षमताको प्रिआइसोलेशन कक्ष स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए । ‘जनप्रिय माविको आधारभूत तहको भवनका छ वटा कोठामा कोरोना अस्पताल र प्रिआइसोलेशन बनाएका हौँ’, उनले भने, ‘त्यहाँ इन्टरनेट जोडेर वाइफाइको समेत व्यवस्था गरेका छौँ ।’

लक्षण नभएका संक्रमितलाई प्रिआइसोलेशन, सामान्य लक्षण भएकालाई कोरोना अस्पताल र जटिल समस्या देखिए बेनी र पोखराको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ । चिकित्सक, स्वास्थ्यकर्मी र सङ्क्रमितको आवासका लागि फरक कोठा बनाइएको र त्यसलाई घेराबार गरिने उपाध्यक्ष बिटालुले बताए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.