www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा साउन यता १६५ जनामा स्क्रबटाइफस

चितवन ।

चितवन जिल्लामा साउन यता १६५ जनामा स्क्रबटाइफस देखा परेको छ । यही अवधिमा डेंगु हुनेको संख्या ३३ रहेको छ ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेंगु संक्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् । अन्य बाहिरी जिल्लाका बिरामी यहाँका अस्पतालमा उपचार गराउने क्रममा रोग देखापरेको हो ।

Batas

कार्यालयका अनुसार डेंगु संक्रमित बिरामी भरतपुर महानगरपालिकाका १५, खैरहनी नगरपालिकाका तीन, माडी नगरपालिकाका एक, रत्ननगर नगरपालिकाका पाँच, राप्ती नगरपालिकाका एक र कालिका नगरपालिकाका दुई जना रहेका छन् । भरतपुर महानगरका ४२, खैरहनी नगरपालिकाका १०, माडी नगरपालिकाका सात, रत्ननगर नगरपालिकाका १०, राप्ती नगरपालिकाका नौ र इच्छाकामना गाउँपालिकाका एक जनामा स्क्रबटाइफस देखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक गीता आचार्यका अनुसार गत वर्ष जिल्लामा चार हजार ८०४ जनामा डेंगु भएको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको थियो । त्यसै गरी स्क्रबटाइफस १३९ जनामा भएकोमा एक जनाको मृत्यु भएको उहाँले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष स्क्रबटाइफस वढेको छ भने डेंगु घटेको छ ।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो मध्ये एक डेंगु हो । यसको संक्रमणमा शुरूआती दिनमा शरीरमा रातो रातो डाबर आउने, एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने गर्दछ ।

यस्तै मुसामा हुने एकप्रकारको माइट भन्ने संक्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुत्सुगामुसी भन्ने ब्याक्टेरियाको कारणले स्क्रबटाइफस हुने भरतपुर अस्पतालका फिजिसियन डा महेन्द्र अग्रहरिले जानकारी दिए । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डिस हुने र पेट दुख्ने अग्रहरिले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.