www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाले घट्यो सिकार :यसवर्ष ढोरपाटन सिकार आरक्षमा एक झारल र एक नाउर मारिने

बागलुङ ।

कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । तर, यस वर्षको पहिलो सिकार याम शुरु भइसके पनि हालसम्म विदेशी सिकारी आउन सकेका छैनन् । कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारल मात्र सिकार हुने भएको छ ।

कोरोना त्रासले गत वर्षको चैतदेखि सिकार हुँन नसकेको आरक्षमा यस वर्षको पहिलो याममा तोकिएको झारल र नाउरको सिकार हुने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेकोमा कोरोनाले गर्दा एउटा कम्पनीले मात्रै आवेदन दिएको छ ।

Batas

विभागले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्र प्रस्ताव पेश गरेको थियो । सिकार आरक्षको धुस्तुङ्ग ब्लकमा एक झारल र एक नाउरको सिकार गर्न उक्त कम्पनीलाई अनुमति दिएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए।

‘गत वर्षको दोस्रो सिजनमा कोरोनाले गर्दा १० नाउर र पाँच झारलको शिकार अनुमतिमै सीमित हुन पुगेको थियो’, कँडेलले भने, ‘यस अघि अनुमति लिए पनि बन्दाबन्दीले सिकार भएन ।’ कँडेलका अनुसार कोरोनाले विदेशी सिकारीले बुझाउने राजश्व शून्य जस्तै भएको बताए ।

नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिक मंसिर पहिलो हप्ता ढोरपाटन आउने छन् । विदेशी सिकारीले नाउरको लागि एक लाख ६० हजार र झारलको लागि ९० हजार मात्रै राजश्व बुझाएका छन् । प्रतिस्पर्धा नहुँदा नाउर र झारलको सिकार मुल्य निकै घटेर गएको छ । सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्नेछन् । आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेनलगायतका देशबाट धनाढ्य सिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गरेका छन् ।

कोरोना अघि हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारीलगायत कम्पनीमार्फत सिकारी आउने गरेका थिए । कोरोनाले यस वर्ष अन्य कम्पनीले बोलपत्रै भरेनन् । आरक्षमा असोज–मंसिर पहिलो र फागुन– वैशाख दोस्रो याममा सिकार हुने गरेको छ । बागलुङ, रुकुम र म्याग्दीका केही भागमा यो आरक्ष फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ । यसको सुरक्षाका लागि नेपाली सेनाको सत्रुमर्दन गुल्म समेत आरक्ष क्षेत्रमा स्थापना गरिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.