www.tandavnews.com
Fact ~ In search of truth

मुलुकका ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा

सप्तरी ।

कोभिड–१९ का कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

नेपाल इँटा उद्योग व्यवसायी संघका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी संघको पदस्थापन कार्यक्रममा प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदस्थापन गराउँदै प्रधानले कोभिड–१९ का कारण भारतको पश्चिम बङ्गालका मजदुरहरु आउन छाडेकाले उत्पादनमा समस्या भएको बताए ।

Batas

देशका मजदुरलाई उद्योगका लागि प्रोत्साहन गरे पनि वैदेशिक रोजगारीमा जान रुचाउने र दक्ष, अनुभवी एवं सीपयुक्त मजदुर नहुने कारणले भारतको पश्चिम बङ्गालको मजदुरको भर पर्नुपरेको उनले बाध्यता सुनाए ।

उद्योगी व्यवसायीसँग नेपाल राष्ट्र बैंकले पाँच प्रतिशत ब्याज मात्र लिने भनी गरेको घोषणा व्यवहारमा कार्यान्वयन नहुँदा उद्योगी मारमा परेको गुनासो गर्दै प्रधानले काँकडभिट्टा, भैरहवा र जोगरबनी नाकाबाट कोइला ल्याउँदा ढुवानीमा बढी खर्च परिरहेकाले जिल्लाकै नाकाबाट कोइला ल्याउन पाइने व्यवस्थाको माग गरे ।

कार्यक्रममा व्यसायीहरुले एउटै आकारप्रकारको इँटा उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सप्तरीमा सञ्चालनमा रहेको करिब ५० वटा इँटा उद्योगमा ६० देखि ७० व्यवासायी आबद्ध छन् । इँटा व्यवसायी संघ प्रदेश नं २ का उपाध्यक्ष शंकर दासका अनुसार एउटा उद्योगले रु १५ देखि १७ लाख कर तिर्ने गरेको छ । सप्तरीमा स्थापित उद्योगमध्येको इँटा उद्योगमा करिब १५ हजारले रोजगारी पाइरहेको र एक लाख व्यक्ति आश्रित रहेका छन् ।

बोदे बर्साइन नगरपालिका–३ का वडाध्यक्ष तथा इँटा व्यवसायी अनोजकुमार यादवले खुला आकाशमुनि राख्नुपरेकाले वर्षामा इँटाको नोक्सान व्यहोर्नुपरेको बताउनुभयो । उहाँले प्राकृतिक विपद्का बेला क्षतिपूर्तिको व्यवस्थाको माग गरे ।

संघका निर्वाचन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष भीमराज यादवको अध्यक्षतामा आयोजित पदस्थापन समारोहमा नवनिर्वाचित अध्यक्ष दुर्गानन्दप्रसाद साहले कोभिड–१९ का कारण लामो समयदेखि भारतीय सीमानाका बन्द रहेकाले उद्योगमा इँटा पोल्न चाहिने कोइला आपूर्ति नभएको र भारतीय मजदुर पनि आउन नसकेकाले १० प्रतिशत मात्र इँटा उत्पादन भइरहेको बताए ।

विसं २०६२ मा प्रस्तावित सप्तरीको इँटा उद्योग व्यवसायी संघ २०७२ मा विधिपूर्वक दर्ता भएको हो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.