www.tandavnews.com
Fact ~ In search of truth

‘थप बन्दाबन्दी थेग्न नसक्ने’

काठमाडौं ।

वायु सेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौँ उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ ।

विगत छ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप बन्दाबन्दी मुलुकले थेग्न नसक्ने अवस्था रहेको संघले आज विज्ञप्तिमार्फत जनाएको हो ।

Batas

‘केही सञ्चार माध्यममा तिहार र छठ पर्वपछि फेरी लकडाउन गर्ने समाचारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । छ महिनाको बन्दाबन्दीले शिथिल भएको पर्यटन, यातायात तथा हवाई सेवालगायतका अन्य व्यवसायलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित हुँदैन । यसले हजारौँ श्रमिकले रोजगार गुम्ने र तीनमा आश्रित परिवारको रोजिरोटीसमेत खोसिनुका साथै वायुसेवा कम्पनी ६ अर्बभन्दा बढी घाटामा गइसकेको अवस्थामा थप व्यवभार थप्नु न्यायोचित हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।

कोभिड–१९ महामारीको संक्रमणदर उच्च रहेको भन्दै काठमाडौँ उपत्यकामा लकडाउन गर्न उपत्यकाका मेयर फोरमले सुझाव दिएको थियो । महामारीकैबीच भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान तथा असोज ५ देखि आन्तरिक उडान शुरु भएको थियो ।

सरकारले मंसिर १ देखि सबै प्रकारका पर्यटकीय गतिविधि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यसले पर्यटन, होटल र हवाई व्यवसायीलाई आशावादी बनाएको भन्दै संघले होलिडे प्याकेज तथा ट्रेकिङको बुकिङसमेत आउन शुरु भइसकेको जनाएको छ ।

मास्कको प्रयोग, सामाजिक दूरीको ख्याल गर्दै कोरोनाबाट बच्न सकिने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेहरुलाई भने कारवाहीको दायरामा ल्याउन पनि संघले माग गरेको छ । बन्दाबन्दीका बीचमा समेत संक्रमित बढिरहेको र कोरोना नियन्त्रणको उपाय पर्याप्त नभएकोले भन्दै संघले लकडाउन मात्र प्रभावकारी नहुने भएकाले महामारी नियन्त्रणमा पूर्वाधार तथा जनशक्ति परिचालन गरी सबैको सक्रियता चाहिने उल्लेख गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान गर्छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.