www.tandavnews.com
Fact ~ In search of truth

मंसिर २ गतेबाट काठमाडौंमा खुला ठाउँमा खाना नखुवाइने

काठमाडौं ।

काठमाडौँमा आगामी मंसिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ ।

स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचना भित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने जनाइएको छ ।

Batas

काठमाडौँ महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच भएको छलफलले उक्त निर्णय गरेको र आगामी दुई गतेबाट भने बन्द संरचनाभित्र व्यवस्थित रुपमा सेवा सञ्चालन हुने सडकमा खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका संयोजक विमल पन्तले जानकारी दिए

असहाय, अशक्त र शारीरिक रुपमा काम गर्न नसक्नेलाई मानवसेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिककका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । उक्त आश्रम काठमाडौँ महानगरपालिकाको सहकार्यमा सञ्चालित छ ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले त्यस्ता सडक मानवलाई यसअघि सेवा दिइरहेको र आगामी दिनमा पनि सेवा दिन तयार रहेको जानकारी दिए । उनका अनुसार मुलुकका २२ शाखामार्फत अहिले झण्डै एक हजार २०० ले यसरी सेवा पाइरहेका छन् । अधिकारीले महानगरको सहकार्यमा उपत्यकालाई सडक मानवरहित बनाउने अभियान जारी रहेको बताए ।

अन्य व्यक्तिको हकमा भने बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न सम्बद्ध संस्थालाई महानगरपालिकाले अनुरोध गरेको छ । काठमाडौँ महानगरपालिकाले एक सूचना नै जारी गरी सबै सामाजिक संघ संस्थालाई बन्द संरचना भित्र उक्त सेवा सञ्चालन गर्न भनेको छ । त्यसका लागि महानगरपालिका तथा वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग रहने जनाइएको छ ।

महानगरपालिकाले कोभिड–१९ का कारण रोजगारी गुमाएका श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने भएको छ । आश्रमसँगको सहकार्यसँगै काठमाडौँ महानगरपालिकाले घोषणा गरेको ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ र ‘काठमाडौँ मानवीयताको नगर’ अनुरुप स्रोत साधनले भ्याएसम्म राहत वितरण, सामूहिक भोजन सेवा, रोगको संक्रमण नियन्त्रण रोकथामको कार्य सञ्चालन गरिएको जनाएको छ । उक्त कार्यमा सहयोग गर्ने सबै संस्था तथा व्यक्तिलाई महानगरले धन्यावाद समेत दिएको छ ।

सडकमा मजदूरलाई खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालका संयोजक पन्तले अहिले सडकमा खाना खुवाउने क्रम जारी रहेकाले महानगरसँग सहकार्य गरेर मंसिर दुई गतेबाट थप व्यवस्थित गरिने जानकारी दिए। रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.