www.tandavnews.com
Fact ~ In search of truth

हुम्लाका शैक्षिक संस्था पुनः बन्द, जिल्लाका सातवटै गाउँपालिका प्रवेशमा रोक

हुम्ला ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ ।

जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ ।

Batas

लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ ।

उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको हो ।

सम्बन्धित गाउँपालिकाले आफ्ना माताहतका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन कार्य बन्द गराउनुका साथै बन्द भए नभएको अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ समिति र गाउँपालिकाले गर्ने भएका छन् ।

नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना संक्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति तातिएको छ ।

नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको हो ।

कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्याउनका लागि कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।

जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटा प्रदेश सरकारसँग माग गरिने भएको छ ।

यस्तै सिमकोट गाउँपालिकाले क्वारेन्टिन व्यवस्था गर्ने, जिल्लास्तरको आइसोलेसन र १० शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था सिमकोटस्थित रानीवनमा रहेको साविक चिता अस्पतालको घरलाई भाडामा लिएर जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रअन्तर्गत रहने गरी स्वास्थ्य सेवा कार्यालयले व्यवस्था गर्ने निर्णय गरिएको छ ।

प्रत्येक गाउँपालिकामा पाँच शय्या क्षमताको आइसोलेसन र १५ शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था गरिने भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.